काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नितिमा कार्कीलाई उम्मेदवारको रूपमा अघि सारेको छ। पार्टीको घण्टी चुनाव चिह्नसहित सार्वजनिक गरिएको प्रचार सामग्रीमार्फत कार्कीले आफ्नो उम्मेदवारीका प्राथमिकता र ७ प्रतिबद्धता सार्वजनिक गरेकी हुन् ।
उम्मेदवार कार्कीले सीपमा आधारित रोजगारी सिर्जना, सम्मानजनक आयको सुनिश्चितता र उद्यमशीलताको वातावरण निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छिन्। साथै, गुणस्तरीय र विकासमुखी शिक्षालाई क्षेत्रको प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
उनले भ्रष्टाचारमुक्त, सदाचारयुक्त शासन आफ्नो अटल प्रतिबद्धता रहेको उल्लेख गर्दै नागरिकको अधिकारका रूपमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा व्यवहारमै उतार्ने प्रतिवद्धता जनाएकी छन्।
कृषि क्षेत्रको सुदृढीकरणका लागि आधुनिक र प्रविधिमैत्री कृषि प्रणालीमार्फत किसानलाई आत्मनिर्भर बनाउने योजना समेत उनको प्राथमिकतामा रहेको छ। त्यसैगरी, महिला र युवाको सशक्तीकरण बिना विकास अधुरो रहने धारणा राख्दै त्यसलाई आफ्नो नेतृत्वको केन्द्रमा राख्ने बताइन्।
वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दै घर फर्केर पुनःएकीकरण गर्न सहज वातावरण बनाइने प्रतिवद्धता समेत कार्कीले जनाएकी छिन्।
रास्वपाले सल्ही क्षेत्र नं. १ मा वैकल्पिक, जवाफदेही र जनमुखी राजनीतिको सन्देश दिन नितिमा कार्कीको उम्मेदवारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

















प्रतिक्रिया दिनुहोस्