काठमाडौँ । देशको राजनीतिमा देखिएको निराशा, पुराना दलप्रतिको घट्दो विश्वास र नयाँ राजनीतिक विकल्पको खोजीबीच सिन्धुली क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट धनेन्द्र कार्कीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। लामो समयदेखि समाजसेवा, सुशासन र जवाफदेही राजनीतिका सवालमा आवाज उठाउँदै आएका कार्कीले “अब कुरा होइन, काम गर्ने समय आएको” बताउँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
सिन्धुली क्षेत्र नं. १ को समग्र विकासका लागि कार्कीको योजना व्यवहारिक र परिणाममुखी रहेको छ। सडक सञ्जाल विस्तार, ग्रामीण बस्तीमा आधारभूत सेवा, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, कृषिमा आधुनिकीकरण र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने योजना उनका प्राथमिकतामा छन्। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र वैदेशिक पलायन रोक्ने दीर्घकालीन सोच उनको मुख्य योजना हो।
उम्मेदवार कार्कीको भिजन स्पष्ट छ । भ्रष्टाचारमुक्त, पारदर्शी र नागरिकमुखी शासन। उनका एजेन्डामा सुशासन, जवाफदेहिता, डिजिटल सेवा, राज्यको स्रोत–साधनको दुरुपयोग रोक्ने र नीति निर्माणमा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने विषय प्रमुख छन्। “संसद जनताको आवाज बुलन्द गर्ने थलो बन्नुपर्छ” भन्ने उनको धारणा छ।
कार्कीको उम्मेदवारी किन?
उनका अनुसार विगतमा जनताले पटक–पटक विश्वास गरेर पठाएका प्रतिनिधिबाट अपेक्षित काम हुन नसकेको यथार्थले आफूलाई उम्मेदवार बन्न प्रेरित गरेको हो। समस्यालाई बाहिरबाट आलोचना गर्नेभन्दा भित्रै बसेर समाधान खोज्न उम्मेदवारी दिएको कार्की बताउँछन्।
जनताका अपेक्षा पूरा गर्न भूमिका
निर्वाचित भएमा जनतासँग नियमित संवाद, सार्वजनिक सुनुवाइ, विकास योजनाको निगरानी र संसदमा क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउने उनको प्रतिबद्धता छ। सांसदलाई ‘विशेष सुविधा पाउने व्यक्ति’ होइन, ‘जनताको सेवक’ को रूपमा स्थापित गर्ने उनको भनाइ छ।
पुराना दलभन्दा फरक के छ?
पुराना दलमा देखिएको गुटबन्दी, सत्तामुखी राजनीति र प्रतिबद्धताभन्दा पदमुखी प्रवृत्तिले जनताको भरोसा गुमाएको कार्कीको तर्क छ। रास्वपा नयाँ सोच, नयाँ कार्यशैली र इमानदार नेतृत्वको प्रतीक भएको भन्दै आफू पुराना अभ्यासभन्दा फरक ढंगले काम गर्ने दाबी उनी गर्छन्।
घोषणापत्रका मुख्य विषयवस्तु:
- सुशासन र भ्रष्टाचार नियन्त्रण,
- युवाका लागि रोजगारी र उद्यमशीलता,
- गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य,
- किसानको उत्पादनमा मूल्य सुनिश्चितता,
- महिला, दलित र सीमान्तकृत समुदायको सशक्तीकरण,
- डिजिटल प्रविधिमार्फत सेवा प्रवाह जस्ता विषय समेटिएका छन्।
अन्त्यमा, उम्मेदवार धनेन्द्र कार्कीले सिन्धुली क्षेत्र नं. १ का मतदातालाई “पार्टीको नाम होइन, काम गर्ने क्षमता र इमानदारिता हेरेर मत दिन” आग्रह गर्दै, अवसर पाए पाँच वर्ष होइन, भविष्य निर्माण गर्ने राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
















प्रतिक्रिया दिनुहोस्