Logo

बागमती पेज

१६ माघ २०८२, शुक्रबार

सहिद स्मारकमा प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

शुक्रबार बिहान सहिद दिवसको अवसरमा प्रधानमन्त्री कार्कीले सहिद स्मारक पुगेर देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। उहाँले सहिदहरूको त्याग र बलिदानको स्मरण गर्दै उनीहरूले देखाएको मार्ग आज पनि प्रेरणाको स्रोत रहेको बताउनुभयो।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने चार सहिद-धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित अन्य सहिदहरूको सम्झनामा हरेक वर्ष सहिद दिवस मनाइने गरिन्छ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।