Logo

बागमती पेज

२७ माघ २०८२, मंगलबार

काठमाडौँ–३ एमालेको बुथ परिचालन कार्यालय उद्घाटन


काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा चुनावी रौनक उत्कर्षमा पुगेको छ। यसै सिलसिलामा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै २०८२ माघ २६ गते गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा निर्वाचन बुथ परिचालन कार्यालयको भव्य उद्घाटन गरेका छन्।

कार्यालय उद्घाटनपश्चात् आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार फुयालले विकास र समृद्धिको खाका प्रस्तुत गरे। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा आफूले सुरु गरेका अपुरा योजनाहरूलाई पूर्णता दिन र क्षेत्रको मुहार फेर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो। उनले मन्त्री छँदा गरेका सुरुङ मार्ग, सडक सञ्जाल विस्तार र पुल निर्माणका कार्यहरू अहिले पनि यस क्षेत्रका मतदाताको मानसपटलमा ताजा छन्। स्थानीयले उनलाई केवल एक नेता मात्र नभई विकासका इन्जिनियरका रूपमा समेत चित्रण गर्ने गरेका छन्।

काठमाडौँ-३ को चुनावी अंकगणित यसपटक निकै रोचक मोडमा छ। उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका राजुनाथ पाण्डेको उपस्थितिले केही मत प्रभावित हुने देखिए पनि, यसले मूलतः त्रिकोणात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको छ। विश्लेषकहरूका अनुसार नयाँ शक्तिहरूले काट्ने मतको प्रत्यक्ष लाभ र संगठित भोटको आधारमा एमालेका फुयाल बलियो देखिएका छन्।

विशेष गरी नेपाली कांग्रेस र एमालेबीचको मुख्य टक्कर हुने यस क्षेत्रमा, कांग्रेसको परम्परागत मत नयाँ उम्मेदवारहरूतिर बाँडिने सम्भावना उच्च छ। यस्तो अवस्थामा एमालेको बलियो संगठन र फुयालले मन्त्री हुँदा बनाएको विकासप्रेमी छविले उनलाई विजयको नजिक पुर्‍याएको तथ्याङ्कहरूले संकेत गरेका छन्। जनताले यसपटक कुरा होइन, काम गर्नेलाई रोज्ने मुड बनाएका छन्, गोकर्णेश्वरका एक स्थानीय कार्यकर्ताले भने, रामेश्वर फुयालको हकमा उनको काम नै उनको सबैभन्दा ठुलो विज्ञापन हो।

बुथ कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थितिले क्षेत्र नं ३ मा एमालेको पक्षमा बलियो जनलहर रहेको पुष्टि गर्छ। नयाँ चुनौतीहरूका बाबजुद फुयालको अनुभवी नेतृत्व र विकासप्रतिको समर्पणले यसपटकको नतिजा एमालेको पक्षमा ढल्किने निश्चित प्रायः देखिएको छ।