काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नितिमा कार्कीलाई उम्मेदवारको रूपमा अघि सारेको छ। पार्टीको चुनाव चिह्न ‘घण्टी’सहित सार्वजनिक गरिएको प्रचार सामग्रीमार्फत उम्मेदवार कार्कीले आफ्ना राजनीतिक प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेकी हुन्।
राजनीतिमा नयाँ सोच, जवाफदेही नेतृत्व र परिणाममुखी कार्यशैलीको आवश्यकता औंल्याउँदै कार्कीले सर्लाही–१ लाई आर्थिक, सामाजिक र शासकीय रूपान्तरणको नमुना क्षेत्र बनाउने लक्ष्य लिएकी बताएकी छन्।
उनले सीपमा आधारित रोजगारी सिर्जना, सम्मानजनक आयको सुनिश्चितता र उद्यमशीलताको वातावरण निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएकी छन्। स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोग गर्दै युवालाई आफ्नै ठाउँमा टिकाउने नीति आफूले अघि बढाउने कार्कीको भनाइ छ।
शिक्षा क्षेत्रलाई विकासको आधार मानेकी कार्कीले गुणस्तरीय, व्यवहारिक र विकासमुखी शिक्षा प्रणाली सर्लाही–१ को प्राथमिकतामा रहने प्रतिबद्धता व्यक्त गरेकी छन्। विद्यालयदेखि उच्च शिक्षासम्म पहुँच, गुणस्तर र सीपमूलक शिक्षामा जोड दिइने उनको धारणा छ।
सुशासनलाई नेतृत्वको मेरुदण्डका रूपमा व्याख्या गर्दै उनले भ्रष्टाचारमुक्त र सदाचारयुक्त शासन प्रणाली आफ्नो अटल प्रतिबद्धता भएको उल्लेख गरेकी छन्। साथै, नागरिकको मौलिक अधिकारका रूपमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा व्यवहारमै उतार्ने प्रतिवद्धता जनाएकी छन्।
कृषि क्षेत्रमा सर्लाहीको सम्भावनालाई आत्मनिर्भर अर्थतन्त्रसँग जोड्दै कार्कीले आधुनिक, प्रविधिमैत्री र व्यावसायिक कृषि प्रणालीमार्फत किसानको आय वृद्धि गर्ने योजना अघि सारेकी छन्। उत्पादन, भण्डारण, बजारीकरण र मूल्य सुनिश्चिततामा राज्यको भूमिका प्रभावकारी बनाइने उनको भनाइ छ।
महिला र युवाको सशक्तीकरण बिना समग्र विकास सम्भव नहुने धारणा राख्दै कार्कीले नीति निर्माणदेखि नेतृत्व तहसम्म उनीहरूको निर्णायक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएकी छन्।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई लक्षित गर्दै स्वदेशमै रोजगारी सिर्जना, घर फर्किएर पुनःएकीकरण गर्न सहज वातावरण र उद्यमशीलतामा सहजीकरण गरिने नीति पनि उनको प्राथमिकतामा रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सर्लाही–१ मा नितिमा कार्कीको उम्मेदवारीमार्फत वैकल्पिक, जवाफदेही र जनमुखी राजनीतिको स्पष्ट सन्देश जाने विश्वास व्यक्त गरेको छ। पार्टीले पुरानो राजनीतिक शैलीभन्दा फरक, परिणाम देखिने र नागरिकसँग प्रत्यक्ष उत्तरदायी नेतृत्व आवश्यक रहेको बताउँदै कार्की त्यसको प्रतिनिधि उम्मेदवार भएको दाबी गरेको छ।
















प्रतिक्रिया दिनुहोस्