Logo

भवानी कार्की

१ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं-३ मा कुलमानको ‘क्रेज’: ‘उज्यालो नेपाल’ को लहरले अन्य दललाई टक्कर


काठमाडौं । आगामी निर्वाचन नजिकिँदै गर्दा काठमाडौं क्षेत्र नं. ३ मा चुनावी माहौल निकै रोचक बनेको छ। नेपाललाई लोडसेडिङको अन्धकारबाट मुक्त गराएर ‘उज्यालो नेपाल’ को नायक बनेका कुलमान घिसिङ को पक्षमा जनलहर उर्लिएको छ। स्थानीयस्तरमा चर्चा गरिए अनुसार, यस पटक यो क्षेत्रमा घिसिङको लोकप्रियताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभावलाई समेत निकै पछाडि पारेको छ।

उज्यालो नेपालको पक्षमा जनसमर्थन क्षेत्र नं. ३ का चोक, चिया पसल र गल्लीहरूमा अचेल कुलमान घिसिङकै चर्चा बढी सुनिन्छ। मतदाताहरू भन्छन्, “जसले काम गरेर देखायो, उसैलाई यसपालि मौका दिनुपर्छ।” रास्वपाको ‘घण्टी’ भन्दा पनि कुलमानले बालेको ‘बत्ती’ र उनको कार्यक्षमताप्रति जनताको विश्वास बढी देखिएको छ। सामाजिक सञ्जालदेखि घरदैलोसम्म उनलाई सर्वसाधारणले भव्य स्वागत गरिरहेका छन्।

मुख्य प्रतिस्पर्धा: घिसिङ र फूँयालबीच ‘टक्कर’ यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका भारी नेता रामेश्वर फूँयाल र कुलमान घिसिङबीच हुने देखिएको छ। एमालेको बलियो सङ्गठन र फूँयालको राजनीतिक अनुभवलाई घिसिङको ‘सेलिब्रेटी छवि’ र ‘कामको नतिजा’ ले सिधा टक्कर दिइरहेको छ।

भ्रष्टाचार विरोधी र कर्मठ व्यक्तिको रूपमा उम्मेदवार घिसिङको परिचय स्थापित छ। यस पटक युवा पुस्ताले दलभन्दा पनि ‘डेलिभरी’ दिने व्यक्तिलाई रोज्ने संकेत गरेका छन्।

काठमाडौं ३ को यो माहोलले के देखाउँछ भने, यस पटक मतदाताहरूले परम्परागत राजनीतिक दल र नयाँ भनिएका दलहरू भन्दा पनि ‘परिक्षित र सफल’ अनुहारलाई प्राथमिकता दिने मुड बनाएका छन्। यदि यही लहर कायम रहेमा कुलमान घिसिङको नतिजा सुखद रहने निश्चित देखिन्छ।