Logo

मेघनाथ पहाडी

३ फाल्गुन २०८२, आइतबार

काठमाडौँ-४ मा सचिन तिमल्सेनाको उदय र आशाको नयाँ मानक


काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ४ को राजनीतिक विरासत यसपटक एक शालिन, बौद्धिक र ऊर्जावान् युवाको काँधमा आइपुगेको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले वर्षौँदेखि जोगाएको र सिञ्चित गरेको यो क्षेत्रमा यसपटक ३३ वर्षीय सचिन तिमल्सेना ‘नयाँ आशा’ को रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

गगन थापालाई आफ्नो आदर्श र राजनीतिक गुरु मान्ने सचिन केवल एउटा उम्मेदवार मात्र होइनन्, उनी कांग्रेसभित्रको पुस्तान्तरण र नीतिगत राजनीतिको नयाँ चेहरा हुन्। हार्वर्ड केनेडी स्कुलबाट नेतृत्वको विशेष शिक्षा लिएका र त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व र शान्ति अध्ययनमा स्नातकोत्तर गरेका सचिनले राजनीतिलाई केवल नारामा मात्र सीमित नगरी ‘नीति र पद्धति’ मा ढाल्ने संकल्प बोकेका छन्। उनको उम्मेदवारीले काठमाडौँ-४ का मतदातामा एक प्रकारको उत्साह र भरोसा जगाएको छ, किनकि उनी यसै माटोमा जन्मिएका, हुर्किएका र यहाँका गल्ली-गल्लीका समस्यासँग परिचित स्थानीय युवा हुन्।

यसपटकको चुनावी मैदानमा सचिनका अगाडि नेकपा एमालेका अनुभवी नेता डा. राजन भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम जस्ता हस्तीहरू प्रतिस्पर्धीका रूपमा खडा छन्। डा. राजन भट्टराईको लामो राजनीतिक अनुभव र वैदेशिक मामिलाको दख्खल पक्कै पनि सम्मानजनक छ, तर मतदाताहरू अब अनुभवसँगै नयाँ भिजन र तत्कालिन समस्या समाधान गर्ने युवा जोसको खोजीमा छन्। यस्तै, पुकार बमले ‘वैकल्पिक शक्ति’ को नारा दिए पनि सचिनसँग भएको गगन थापाको बलियो सांगठनिक विरासत र कांग्रेसको ऐतिहासिक जगले उनलाई अरूभन्दा एक कदम अगाडि राखेको देखिन्छ। सचिनले केवल पुरानो विरासत मात्र थामेका छैनन्, उनले त ‘युवा कांग्रेस’ को संस्थापक भएर देशभरका युवालाई नीति निर्माणमा जोड्ने जुन काम गरे, त्यसले गर्दा उनी स्वतन्त्र र तटस्थ मतदाताका लागिसमेत पहिलो रोजाइ बन्न सफल भएका छन्।

सचिनको व्यक्तित्वको अर्को रोचक पाटो भनेको उनको बहुआयामिकता हो। राजनीतिसँगै क्रिकेट कमेन्टेटरका रूपमा लाखौँ खेलप्रेमीको मन जितेका उनले खेलकुद क्षेत्रको सुधारका लागि पनि उत्तिकै आवाज उठाउँदै आएका छन्। कोभिड-१९ महामारीका बेला ‘अक्सिजन फर नेपाल’ मार्फत उनले देखाएको मानवीय सेवा र सामाजिक न्यायका मुद्दामा उनको निरन्तरको सक्रियताले उनलाई एक ‘भुइँमान्छेको नेता’ का रूपमा स्थापित गरेको छ। उनीसँग एकातिर गगन थापाको भरोसा र मार्गदर्शन छ भने अर्कोतिर आफ्नै समाज र परिवेश बदल्ने स्पष्ट मार्गचित्र। उनले राजनीतिलाई पेशा होइन, सेवा र संस्कार परिवर्तन गर्ने अभियानका रूपमा लिएका छन्, जसले गर्दा शिक्षित र सचेत मतदाताहरू उनीप्रति निकै सकारात्मक देखिएका छन्।

अन्ततः काठमाडौँ-४ को यो चुनावी लडाइँ सचिनका लागि गगन थापाले देखाएको समृद्धिको सपनालाई पूर्णता दिने एउटा ऐतिहासिक अवसर हो। डा. राजन भट्टराईको परिपक्वता र पुकार बमको नयाँ आवेगका बीच सचिन तिमल्सेनाले आफूलाई ‘सन्तुलित र भिजनरी’ उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। गगनको उत्तराधिकारीका रूपमा उनको उदयले नेपालको राजनीतिमा नयाँ पुस्ताको निर्णायक हस्तक्षेप सुरु भएको सन्देश दिएको छ। मतदाताहरूले यसपटक केवल प्रतिनिधि मात्र छान्ने छैनन्, उनीहरूले सचिनमार्फत काठमाडौँ-४ को उज्यालो र आधुनिक भविष्यका लागि मतदान गर्ने विश्वास गरिएको छ।