Logo

मेघनाथ पहाडी

३ फाल्गुन २०८२, आइतबार

ताप्लेजुङमा क्षितिज थेबेको उदयः समृद्धिका लागि नयाँ पुस्ताको भरोसा


काठमाडौँ । ताप्लेजुङको संसदीय राजनीतिमा यसपटक एउटा नयाँ र ऊर्जावान् क्षितिज थेबेको नामले मतदातामा नयाँ आशा जगाएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका ३८ वर्षीय थेबेले जिल्लाको चुनावी माहोललाई मात्र तताएका छैनन्, बरु राजनीतिमा युवा पुस्ताको हस्तक्षेपकारी उपस्थितिलाई समेत पुष्टि गरेका छन्।

राष्ट्रिय युवा संघ नेपालको पूर्वअध्यक्षका रूपमा सफल कार्यकाल व्यतित गरिसकेका थेबे संगठनात्मक रूपमा निकै परिपक्व र जुझारु मानिन्छन्। लामो समयदेखि युवाका मुद्दा, स्वरोजगार र नेतृत्व विकासका लागि आवाज उठाउँदै आएका उनलाई यसपटक ताप्लेजुङका आम युवा र नयाँ पुस्ताले आफ्नो आवाज को रूपमा हेरेका छन्।

स्थानीय स्तरमा थेबेको उम्मेदवारीलाई केवल एउटा पार्टीको उम्मेदवारीका रूपमा मात्र नभई पुस्तान्तरण र रूपान्तरणको कडीका रूपमा व्याख्या गरिएको छ। पहिलोपटक मतदान गर्न लागेका युवादेखि परिवर्तनको चाहना राख्ने पाका पुस्तासम्मले थेबेको नयाँ सोच र जोसलाई सकारात्मक रूपमा लिएका छन्।

हामीलाई अनुभवसँगै नयाँ भिजन भएको र जनताको घरदैलोमा सहजै पुग्न सक्ने नेतृत्व चाहिएको हो, जुन गुण क्षितिज थेबेमा प्रस्ट देखिन्छ, एक स्थानीय युवा मतदाता बताउँछन्।

हुन त कतिपयले उनलाई राजकीय पदमा नयाँ अनुहारका रूपमा चित्रण गर्छन्, तर त्यही नयाँपन नै उनको सबैभन्दा ठूलो शक्ति बनेको छ। कुनै पनि नकारात्मक परम्पराको बोझ नबोकेका थेबेले स्वच्छ छवि र विकासको स्पष्ट खाकासहित जनताको मन जितिरहेका छन्।

पार्टी नेतृत्वसँगको निकटता र बलियो संगठनात्मक पकड भएका थेबेका लागि यो चुनाव एउटा ऐतिहासिक टर्निङ प्वाइन्ट हुने निश्चित छ। ताप्लेजुङको भूगोल बुझेका र युवाहरूको भविष्यप्रति संवेदनशील उनी अहिले चुनावी मैदानमा मात्र छैनन्, बरु एउटा नयाँ राजनीतिक युगको सुत्रधार बन्ने यात्रामा छन्।