नवलपरासी । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले नवलपरासी–१ को चुनावी मैदानमा आफ्नो ‘सेकेण्ड इनिङ्स’ सुरु गरेसँगै विपक्षी खेमामा ढ्याङ्ग्रो ठोक्न थालेको छ। विकासको ‘ग्लोबल भिजन’ र कुसल राजनीतिक चतुरता बोकेका चौधरीको बढ्दो लोकप्रियताले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अहिले रक्षात्मक अवस्थामा पुगेका छन्।
हिजोका दिनमा ‘टुरिस्ट’ भन्दै हल्का टिप्पणी गर्नेहरू आज चौधरीको संगठनात्मक पकड र जनताको अपार समर्थन देखेर अत्तालिएका प्रष्ट देखिन्छ। चौधरीको पक्षमा उर्लिएको जनलहरले एमालेका रामप्रसाद पाण्डे र रास्वपाबाट उम्मेदवारी दिएका विक्रम खनाललाई ठूलो धक्का लागेको छ।
एमालेले आफ्नो ‘गढ’ दाबी गरे पनि चौधरीले विकासका ठोस योजना र शाश्वत धाम जस्ता गौरवका आयोजनामार्फत स्थानीयको मन जितिसकेका छन्। रास्वपाका उम्मेदवार खनाल, जो हिजो चौधरीकै छहारीमा थिए, आज मैदानमा उत्रिँदा ‘विनोद चौधरीको उचाई’ सँग ठोक्किन पुगेका छन्। विपक्षीहरूले जतिसुकै घेराबन्दी गरे पनि चौधरीको ‘विकास मोडेल’ अगाडि उनीहरूको एजेन्डा फिक्का देखिएको छ।
चौधरी केवल एउटा नेता मात्र होइनन्, उनी नेपाललाई विश्वमा चिनाउने ‘ब्रान्ड’ हुन्। १६० कम्पनी र २७ देशमा फैलिएको उनको व्यावसायिक साम्राज्यको अनुभवलाई नवलपरासीको माटोमा सिञ्चित गर्ने उनको संकल्पले युवा पुस्तामा ठूलो आशा जगाएको छ। “अरूले सपना मात्र बाँड्छन्, विनोद चौधरीले परिणाम दिन्छन्” भन्ने भाष्य अहिले गाउँगाउँमा स्थापित भएको छ। विपक्षीहरूले ‘पूँजीपति’ भन्दै नकारात्मक प्रचार गर्न खोजे पनि जनताले उनलाई ‘समृद्धिको सारथि’ को रूपमा स्वीकार गरिसकेका छन्।
पञ्चायतदेखि गणतन्त्रसम्मको शक्ति सन्तुलन मिलाउन पोख्त चौधरीले यसपटक मधेशी र थारु समुदायको मन मात्र जितेका छैनन्, कांग्रेसको आन्तरिक कलहलाई समेत साम्य पार्दै सिङ्गो संयन्त्रलाई आफ्नो पक्षमा परिचालन गरेका छन्। विपक्षी गठबन्धन र बागी उम्मेदवारहरूको चुनौतीलाई उनले आफ्नो ‘व्यावहारिक राजनीति’ ले सहजै किनारा लगाइदिएका छन्। नवलपरासी–१ मा अहिले एउटै नारा गुञ्जिरहेको छ, “विकासका लागि विनोद चौधरी, समृद्धिका लागि चौधरीको विकल्प छैन।”
यसपटकको चुनाव चौधरीका लागि केवल मतको लडाइँ होइन, यो त उनले सुरु गरेको विकासको अभियानलाई अनुमोदन गर्ने जनमत संग्रह बन्ने देखिएको छ। विपक्षीहरूको डर र छटपटीले नै स्पष्ट पार्छ कि नवलपरासीमा विनोद चौधरीको विजय यात्रा रोक्न अब कसैलाई सहज छैन।












प्रतिक्रिया दिनुहोस्