Logo

बागमती पेज

४ फाल्गुन २०८२, सोमबार

कामभन्दा बढी ‘स्टाटस’ मा रमाउने ‘भर्चुअल’ बालेन


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह अहिले विकासका योजनामा भन्दा पनि फेसबुक र ट्विटरका शब्दजालमा बढी व्यस्त देखिन्छन्। उनी जनताका समस्या प्रत्यक्ष सुन्ने र समाधान खोज्ने ‘ग्राउन्ड’ का नेता नभई मोबाइलको स्क्रिनभित्र मात्र सीमित ‘डिजिटल मेयर’ मा परिणत भए ।

मेयर शाहमा देखिएको सबैभन्दा ठुलो समस्या भनेको दोहोरो संवादको अभाव हो। लोकतन्त्रमा प्रश्नको सामना गरिन्छ, तर बालेन प्रश्न गर्नेलाई सत्रु देख्छन्। उनी आफ्ना कुरा सामाजिक सञ्जालमा एकोहोरो ‘थुपार्छन्’, तर कसैले तर्कसहित प्रश्न उठाएमा त्यसलाई सुन्नुको साटो अमर्यादित दोहोरी खेल्न ओर्लिन्छन्। एउटा जिम्मेवार पदमा बसेको व्यक्तिले देखाउनुपर्ने न्यूनतम धैर्यता उनीसँग छैन।

महानगरका गल्लीहरूमा समस्या जस्ताको तस्तै छन्, तर बालेनको सचिवालय भने फेसबुकका ‘रियाक्सन’ र ‘सेयर’ गन्नमै व्यस्त छ। उनी कहीँ कतै सार्वजनिक बहस वा अन्तर्वार्तामा देखिँदैनन्। उनलाई लाग्छ देश फेसबुकबाट चल्छ। प्रत्यक्ष संवादबाट भाग्नुले उनको आत्मविश्वासको कमी र योजनाविहीनतालाई प्रस्ट पार्छ।

बालेनको दिनचर्या बिहान उठ्ने, एउटा विवादास्पद वा आक्रामक स्टाटस लेख्ने र त्यसैको तालीमा रमाउनेमा मात्र केन्द्रित छ। जनताले उनलाई भोट हालेर सडकमा धुलो खान पठाएका थिए, तर उनी मोबाइल समातेर कोठामा बस्ने ‘स्टाटस मेकर’ मात्र बनेका छन्।

“जनताको प्रश्नसँग डराएर कमेन्ट बक्समा झगडा गर्छ र सार्वजनिक मञ्चमा बोल्ने हिम्मत राख्दैन, उसले सहर कसरी बनाउला?”