Logo

बागमती पेज

६ फाल्गुन २०८२, बुधबार

महेश बस्नेतलाई नगदेशवासीले भने, भक्तपुर नबुझ्नेलाई विश्वास गर्दैनौं


भक्तपुर । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतको घरदैलो अभियान मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा उत्साहजनक रूपमा सम्पन्न भएको छ। परम्परागत शैलीमा निर्माण गरिएको आकर्षक नगदेश गेटमा स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।

स्थानीयले पक्की सडक, खानेपानी र किसानमैत्री सहुलियतजस्ता आधारभूत मागहरू आगामी सरकारले सम्बोधन गर्नुपर्ने बताए । देशको अवस्था र विकासका आवश्यकता हेर्दा यसपटक पनि बस्नेतलाई नै मतदान गर्ने प्रतिबद्धता धेरैले व्यक्त गरे।

उम्मेदवार बस्नेतले आफूले सुरु गरेका अधुरा काम पूरा गर्न फेरि जनतामाझ आएको बताएका छन्। विगतमा आफ्नो बारेमा फैलाइएका भ्रमहरू यसपटक जनताले २०७४ को जस्तै परिणाम दोहोर्याउने जनविश्वास पाएको छु, उनले भने।

स्थानीय मतदाताले “भक्तपुर नदेखेको, भक्तपुर नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई भोट दिँदैनौं” भन्दै बस्नेतप्रति समर्थन जनाएका थिए। उनीहरूले जिल्लाको विकास र संकट व्यवस्थापनका लागि अनुभवी नेतृत्व आवश्यक रहेको धारणा राखे।

बस्नेतले आगामी निर्वाचनमा एमाले बलियो रूपमा अघि बढिरहेको दाबी गर्दै राष्ट्रियता, स्थायित्व र विकासका एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताए। साथै, अन्तर्राष्ट्रिय हस्तक्षेप र अस्थिरताबाट देश जोगाउन सचेत मत आवश्यक रहेको उनको भनाइ थियो।