Logo

भवानी कार्की

७ फाल्गुन २०८२, बिहिबार

पत्रकारिताको ‘साहस’ बाट संसद्को ‘शालीनता’ तर्फ अजयबाबु शिवाकोटी


काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दोलखा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका प्रभावशाली युवा नेता अजयबाबु शिवाकोटी चुनावी मैदानमा उत्रिएसँगै जिल्लाको राजनीतिक माहोल तातिएको छ।

दशकौँसम्म पत्रकारितामार्फत राज्यका शक्ति केन्द्रलाई चुनौती दिँदै आएका र भ्रष्टाचारका ठूला काण्डहरू पर्दाफास गरेर ‘साहसी पत्रकार’ को छवि बनाएका ४६ वर्षीय शिवाकोटी यतिबेला दोलखाको समृद्धिको खाका बोकेर जनताको घरदैलोमा पुगेका छन्।

भीमेश्वर नगरपालिकाका स्थायी बासिन्दा रहेका शिवाकोटी स्नातकोत्तर तहको उच्च शिक्षा र पत्रकारिताको लामो अनुभवले खारिएका एक बौद्धिक तथा निष्कलंक नेता हुन्, जसले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्य निर्वाचित भएर आफ्नो सांगठनिक पकड प्रमाणित गरिसकेका छन्।

पार्टीभित्र र बाहिर एक ‘स्वच्छ र स्पष्ट वक्ता’ को रूपमा चिनिने शिवाकोटीलाई यतिबेला दोलखाले आफ्नो नयाँ र भरोसायोग्य नेतृत्वको रूपमा हेरेको छ। गगन थापा निकट मानिने उनले पार्टीभित्रको आन्तरिक सुधार, युवा नेतृत्व र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा लिएको अडानले आम मतदातामा उनीप्रति ठूलो आशा जगाएको छ।

दोलखा जस्तो पर्यटकीय सम्भावना र कृषिप्रधान जिल्लामा केवल आश्वासन मात्र होइन, संसद्मै पुगेर नीतिगत हस्तक्षेप गर्न सक्ने दक्षता उनीसँग रहेको छ। ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ जस्ता प्रतिष्ठित सम्मानबाट विभूषित शिवाकोटीले संसद्मा पुगेपछि दोलखाको विकास, पर्यटन प्रवर्द्धन र किसानका समस्यालाई राष्ट्रिय बहसको केन्द्र बनाउने वाचा गरेका छन्।

दोलखाली जनताका लागि यसपटकको निर्वाचन केवल एउटा सांसद चुन्ने मात्र नभई, एक सक्षम र पहुँचवाला ‘भ्वाइस’ छान्ने अवसर पनि हो। विपक्षीको सांगठनिक शक्ति र पार्टीभित्रका सानातिना चुनौतीलाई चिर्दै शिवाकोटीले जुन ढंगले ‘दक्षता र स्पष्ट दृष्टिकोण’ अघि सारेका छन्, त्यसले उनलाई अन्य उम्मेदवारभन्दा निकै अगाडि उभ्याएको छ।

चुनावी मैदानमा अजयबाबुको उपस्थिति केवल एक उम्मेदवारी मात्र नभई दोलखाको नयाँ राजनीतिक युगको सुरुवात भएको भन्दै स्थानीय युवा र बौद्धिक वर्गमा ठूलो उत्साह देखिएको छ। आफ्नो माटोमा भिजेका र केन्द्रमा बलियो प्रभाव राख्ने शिवाकोटीको जितले नै दोलखाको आवाज संसद्मा ओझिलो हुने विश्वास गरिएको छ।