Logo

मेघनाथ पहाडी

८ फाल्गुन २०८२, शुक्रबार

चितवनको माटो र भूगोल बुझेकी ‘कमान्डर’: अधुरा सपना पूरा गर्न रेणुको संसदीय दौड


चितवन । भरतपुर महानगरपालिकाको मुहार फेर्न सफल नेतृत्वको रूपमा पहिचान बनाएकी रेणु दाहाल यसपटक प्रतिनिधिसभा सदस्यका लागि चितवन–३ बाट चुनावी मैदानमा होमिएकी छन्। ‘प्रचण्डकी छोरी’ को पहिचानभन्दा माथि उठेर ‘विकासप्रेमी नेता’ को छवि बनाएकी दाहालले आफूले विगत एक दशकमा गरेका कामलाई नै मुख्य एजेन्डा बनाएर मतदाताको घरदैलोमा पुगिरहेकी छन्।

भरतपुर महानगरपालिकाको दुई कार्यकाल सम्हाल्दा रेणुले पूर्वाधार विकासमा मारेको फड्कोलाई धेरैले ‘स्वर्णिम युग’ को संज्ञा दिएका छन्। करिब ११०० किलोमिटरभन्दा बढी सडक कालोपत्रे, नारायणी नदी तटबन्धन, सिटी हल निर्माण र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला जस्ता गौरवका आयोजनाहरू उनकै पहलमा अघि बढेका हुन्।

चितवनवासीका अनुसार, भरतपुरलाई धुलाम्य सडकबाट आधुनिक सहरमा बदल्न रेणुले खेलेको भूमिका अविष्मरणीय छ। निर्वाचनको पूर्वसन्ध्यामा उनले भनिन्, मैले भरतपुरको मेयर हुँदा जे बोलेँ, त्यो गरेर देखाएँ। अब चितवनको समग्र विकास र राष्ट्रिय राजनीतिमा यहाँको मुद्दा स्थापित गर्न म तयार छु।

रेणु दाहाल देशैभरिका जनप्रतिनिधिहरूमध्ये सबैभन्दा धेरै काम गर्ने र परिणाम दिने नेताको रूपमा दरिएकी छन्। उनको कामको प्रत्यक्ष अनुभव गरेका चितवनवासीले यसपटक बाहिरी हल्लाभन्दा पनि आफ्नो माटो र भूगोल बुझेको, दुःख–सुखमा साथ दिने र विकासको स्पष्ट खाका भएको प्रतिनिधिलाई नै रोज्ने विश्वास गरिएको छ।

उनको प्रशासनिक दक्षता र राजनीतिक उचाइले चितवन–३ लाई मात्र नभई समग्र देशलाई नै समृद्धिको दिशामा लैजाने अपेक्षा मतदातामा देखिन्छ।