Logo

मेघनाथ पहाडी

१० फाल्गुन २०८२, आइतबार

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले) की उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गाको सर्वाङ्गीण विकासका लागि आफ्नो ६ बुँदे मुख्य कार्ययोजना सार्वजनिक गरेकी छिन्।

“समृद्ध ओखलढुङ्गा र सुखी ओखलढुङ्गावासी” को नारासहित चुनावी मैदानमा होमिएकी थापाले भौतिक पूर्वाधार, कृषि, प्रविधि, उद्यमशीलता, युवा परिचालन र शिक्षालाई आफ्नो मूल एजेन्डा बनाएकी छिन्।

थापाको पहिलो प्राथमिकतामा जिल्लाको ‘लाइफलाइन’ मानिएका सडक कोरिडोरहरू रहेका छन्। दूधकोशी, मोलुङ र लिखु कोरिडोरको निर्माणलाई यथाशीघ्र सम्पन्न गरी बाह्रै महिना यातायात चल्ने सुनिश्चित गर्ने उनले प्रतिवद्धता जनाएकी छिन्। ग्रामीण बस्तीहरूलाई सदरमुकाम र मुख्य राजमार्गसँग जोड्दै ओखलढुङ्गालाई सडक सञ्जालमा नमुना बनाउने उनको योजना छ।

परम्परागत खेतीलाई विस्थापित गरी व्यवसायिक र आधुनिक कृषि प्रणाली लागू गर्ने थापाको दोस्रो संकल्प हो। उनले कृषि सहकारीमार्फत किसानको उत्पादन बिक्रीको ग्यारेन्टी गर्ने, चिस्यान केन्द्र (कोल्ड स्टोरेज) निर्माण गर्ने र बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रियस्तरको कार्यक्रम ल्याउने ठोस योजना अघि सारेकी छिन्।

युवा पुस्तालाई लक्षित गर्दै थापाले ‘डिजिटल ओखलढुङ्गा’ को अवधारणा ल्याएकी छिन्। सस्तो र तीव्र इन्टरनेटको पहुँचसँगै जिल्लामा ‘आईटी हब’ (Information Technology Hub) स्थापना गरी किशोर-किशोरी र युवाहरूलाई प्रविधिमार्फत स्वरोजगार बनाउने उनको दाबी छ। यसले ओखलढुङ्गाका युवालाई विश्व बजारसँग जोड्ने विश्वास गरिएको छ।

स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरूको प्रवद्र्धनलाई थापाले विशेष जोड दिएकी छिन्। डेरी, जडिबुटी प्रशोधन, चिया र अलैँची जस्ता स्थानीय उत्पादनलाई ब्रान्डिङ गरी बजार विस्तार गर्ने र महिला समूहहरूलाई सीपमूलक तालिममार्फत आर्थिक रूपमा सबल बनाउने उनको कार्ययोजनामा उल्लेख छ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सीपलाई स्वदेशमै उपयोग गर्न उनले सहुलियत कर्जा र अनुदानको नीति लिने बताएकी छिन्। ‘गाउँ फर्क’ अभियानलाई नारामा मात्र सीमित नराखी नीतिगत रूपमै कार्यान्वयन गर्ने र युवा प्रतिभाहरूलाई खेलकुद तथा अन्य क्षेत्रमा अघि बढाउन जिल्लाभर खेल मैदान र तालिम केन्द्रहरू निर्माण गर्ने उनको योजना छ।

शिक्षालाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी सीप र रोजगारीसँग जोड्ने थापाको अन्तिम तर महत्त्वपूर्ण संकल्प हो।

संस्कारयुक्त, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गर्ने र ओखलढुङ्गालाई शैक्षिक केन्द्रको रूपमा विकास गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छिन्।

नेकपा (एमाले) को तर्फबाट अघि सारिएका यी ६ वटा खम्बाहरूले ओखलढुङ्गाको भविष्य बदल्ने र एक सक्षम नेतृत्वको रूपमा अस्मिता थापाले जिल्लाको आवाज संसदमा बुलन्द पार्ने स्थानीय नेता तथा कार्यकर्ताहरूको विश्वास छ।