Logo

बागमती पेज

११ फाल्गुन २०८२, सोमबार

काठमाडौँ-२ मा उम्मेदवार मणिराम फुयालका ५ मुख्य संकल्प


काठमाडौँ । आगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मणिराम फुयालले आफ्ना चुनावी प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आत्मसात गर्दै फुयालले आफ्नो क्षेत्रको चौतर्फी विकास र सुशासनका लागि ५ बुँदे संकल्प अघि सारेका हुन्। उम्मेदवार फुयालका मुख्य संकल्पहरू यस प्रकार छन्:

१. अधुरा योजनाको पूर्णता र अपनत्व

वि.सं. २०४८ सालदेखि नेकपा (एमाले) ले यस क्षेत्रमा सुरु गरेका विकासका योजना र अभियानहरूलाई सार्थक निष्कर्षमा पुर्‍याउने उहाँको पहिलो प्राथमिकता रहेको छ। अधुरा कामहरू सम्पन्न गरी जनताको समुन्नतिका लागि पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

२. मतदाताप्रति निष्ठा र बफादारिता

आफ्ना मतदाताप्रति सधैं अनुशासित र बफादार रहने संकल्प गर्दै फुयालले देश र जनतालाई कहिल्यै धोका नदिने मूल मन्त्र अघि सारेका छन् ।

३. राष्ट्रहित र सार्वभौमिकताको रक्षा

नेपाली नागरिकता, देशको सीमा सुरक्षा, सार्वजनिक जग्गाको संरक्षण, वातावरण र वैदेशिक सम्बन्ध जस्ता संवेदनशील विषयमा सधैं राष्ट्रहितको पक्षमा दृढतापूर्वक उभिने उहाँको घोषणा छ। राष्ट्रहित विपरीतका कुनै पनि नीति वा कानुन बन्न नदिने उहाँको दाबी छ।

४. जबजको सिद्धान्त र समृद्धिको सपना

जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) प्रति अटल आस्था राख्दै पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले देखेको समृद्ध क्षेत्रको सपना साकार पार्न आफू सदैव तत्पर रहने उम्मेदवार फुयालले उल्लेख गरेका छन् ।

५. भ्रष्टाचारमा शून्य सहनशीलता र पारदर्शिता

म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न भन्ने सुशासनको मूल मर्मलाई आत्मसात गर्दै फुयालले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउनुभएको छ। साथै, जनसेवालाई प्रभावकारी बनाउने र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने संकल्प समेत गरेका छन् ।
मणिराम फुयाल काठमाडौँ क्षेत्र नं. २ का पुराना र अनुभवी नेता हुनुहुन्छ। यसअघि प्रदेश सभा सदस्यका रूपमा समेत काम गरिसक्नुभएका फुयाल यसपटक समृद्ध क्षेत्र र सुशासनको नारासहित प्रतिनिधि सभाको चुनावी मैदानमा छन्।