काठमाडौं। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) उदयपुर क्षेत्र नम्बर–१ का उम्मेदवार दुर्गा कुमार थापा (स्वस्ती) ले आफ्नो ७ बुँदे विकास अवधारणा सार्वजनिक गरेका छन्। चुनावी अभियानलाई तीव्र बनाउँदै थापाले अधिकारमुखी विकास, सुशासन र उत्पादनमुखी अर्थतन्त्रलाई आफ्नो मुख्य एजेन्डा बनाएका हुन्।
उम्मेदवार थापाले विकासलाई कसैको कृपा वा दानको रूपमा नभई जनताको अधिकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। विकास कसैको दान होइन, जनताको अधिकार हो। जनताको मतबाट निर्वाचित भएपछि जनताकै हक सुनिश्चित गर्ने काम मेरो पहिलो प्राथमिकता हुनेछ, उनले भने।
उम्मेदवार थापाले विगतका तानातान र राजनीतिक खिचातानी अन्त्य गर्दै सर्वपक्षीय सहमतिका आधारमा विकास निर्माणका काम अघि बढाउने बताए। एक्लाएक्लै तानातान गरेर उदयपुर–१ को समृद्धि सम्भव छैन। सबै दल, सबै तह र सबै समुदायलाई साथमा लिएर अगाडि बढ्नेछु, थापाको भनाइ छ।
स्थानीय स्रोत र साधनको अधिकतम परिचालनमार्फत आत्मनिर्भर उदयपुर निर्माण गर्ने उनको योजना छ। कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, सडक तथा पुल निर्माण, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिने उनले बताए। हामीसँग जमिन छ, युवा शक्ति छ, प्राकृतिक स्रोत छन्। सही नीति र इमान्दार नेतृत्व भए विकास टाढा छैन, उनले भने।
भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने थापाको प्रतिबद्धता छ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइनेछ। पारदर्शिता, जवाफदेहिता र सुशासनमार्फत जनताको विश्वास जित्नेछु,उनले स्पष्ट पारे।
महिला, दलित, आदिवासी, जनजाति तथा पछाडि परेका समुदायलाई समेट्दै समावेशी विकासको अवधारणा लागू गरिने उनले बताए। “महिलालाई पहिलो प्राथमिकता दिँदै सबै वर्ग र समुदायलाई विकासको मूलधारमा ल्याइनेछ,” उनले भने।
युवा लक्षित कार्यक्रमअन्तर्गत उत्पादन र उद्यमशीलता प्रवर्द्धन गरिने उल्लेख गर्दै थापाले रोजगारी सिर्जनामा जोड दिने बताए। “उत्पादनमा हाम्रो साथ, बरु दिनु म खाली हात भन्ने नारालाई व्यवहारमा उतार्दै युवालाई स्वरोजगार र उद्यमतर्फ उन्मुख गरिनेछ,” उनले भने, “विदेश पलायन रोक्न स्वदेशमै अवसर सिर्जना गर्नु आजको आवश्यकता हो।”
सामाजिक सद्भाव, छुवाछुत तथा हिंसामुक्त समाज निर्माणलाई समेत आफ्नो अभियानको हिस्सा बनाउँदै उम्मेदवार थापाले उदयपुर–१ लाई नमुना क्षेत्र बनाउने दाबी गरेका छन्।
निर्वाचन नजिकिँदै जाँदा एमाले उम्मेदवार थापाले आफ्नो विकास एजेन्डालाई घरदैलो अभियानमार्फत मतदातासम्म पुर्याउँदै जनताको मतलाई परिवर्तन र समृद्धिको आधार बनाउने विश्वास व्यक्त गरेका छन्।












प्रतिक्रिया दिनुहोस्