काठमाडौँ । राजनीतिलाई सत्ता प्राप्तिको भर्याङ मात्र ठान्ने प्रवृत्ति व्याप्त रहेका बेला काठमाडौँ निर्वाचन क्षेत्र नं. २ मा एक फरक व्यक्तित्वको चर्चा चुलिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोखरेल यतिबेला ‘विकास, सुशासन, उद्यमशीलता र समृद्धि’को स्पष्ट मार्गचित्रसहित चुनावी मैदानमा उत्रिएकि छन्।
करिब १५ वर्षदेखि काठमाडौँ-२ का सहरी बस्तीदेखि ग्रामीण भेगका महिला, श्रमिक र युवाका समस्यासँग प्रत्यक्ष जुध्दै आएकी पोखरेलले आफ्नो यो यात्रालाई पद र प्रतिष्ठाभन्दा माथि उठेर जनताको सेवामा समर्पित गर्ने अठोट लिएकी छन्।
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी पोखरेलले केवल सिद्धान्तमा मात्र होइन, व्यवहारमा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेकी छन्।
करिब १० हजार महिलालाई उद्यमशीलताको तालिम दिनेदेखि १०० भन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी प्रदान गर्नेसम्मका उनका कार्यले एक सफल उद्यमी र सामाजिक अभियन्ताका रूपमा स्थापित गराएको छ।
पोखरेलको राजनीतिक दर्शनको केन्द्रमा सुशासन र नेपाली मौलिक पहिचानको संरक्षण रहेको छ। उनले संसद्लाई केवल कानुन बनाउने थलो मात्र नभई काठमाडौँ-२ का जनताको बुलन्द आवाज उठाउने सशक्त मञ्च बनाउने संकल्प छ।
भ्रष्टाचार विरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएकी उनले चुनावी ऐन संशोधन गरी प्रवासमा रहेका नेपालीहरूलाई समेत मतदानको अधिकार दिलाउने जस्ता नीतिगत सुधारका एजेण्डाहरू अघि सारेकी छन्। उनले घोषणापत्रमा कोटेश्वर, जडिबुटी र गौशाला जस्ता क्षेत्रको ट्राफिक जाम व्यवस्थापन गर्नेदेखि तीनकुनेको खाली जग्गालाई न्यायिक समाधानमार्फत हरित क्षेत्रका रूपमा विकास गर्नेसम्मका व्यावहारिक योजनाहरू समेटिएका छन्।
यस्तै, पेप्सीकोलाको डुबान समस्या, खानेपानीको अभाव र मनोहरा नदीको कटान जस्ता स्थानीय समस्या समाधानका लागि वैज्ञानिक र दीर्घकालीन योजना अघि सारेकी छन् ।
काठमाडौँ-२ को सांस्कृतिक र पर्यटकीय विकासका लागि उम्मेदवार पोखरेलका योजनाहरू उत्तिकै ठोस छन्। शंखरापुरको पर्यटन प्रवर्द्धनका लागि “Made in Shankharapur” ब्राण्डिङ गर्ने, साँखु-साली नदी मेलालाई व्यवस्थित बनाउने र ऐतिहासिक नेवार तथा तामाङ संस्कृतिको संरक्षण गर्ने विषयलाई आफ्नो प्राथमिकतामा समेटेर अगाडि बढेकी छन् ।
कृषि र उद्यमशीलतालाई जोड्न ‘Farm to Market’ मोडेल लागू गर्ने र उद्योगहरूको दर्ताका लागि ‘एकद्वार प्रणाली’ कार्यान्वयन गर्ने योजनाले यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।
देश परिवर्तन गर्न, मत परिवर्तन गरौँ भन्ने नाराका साथ ‘हलो’ चिन्ह लिएर चुनावी मैदानमा होमिएकी पोखरेलको यो उम्मेदवारीले काठमाडौँ-२ मा विकास र सुशासनको नयाँ आशा जगाएको छ।












प्रतिक्रिया दिनुहोस्