Logo

बागमती पेज

१४ फाल्गुन २०८२, बिहिबार

काठमाडौँ-४ दीपक अधिकारी: एक घर-एक बिरुवा देखि स्मार्ट सिटी सम्मका एजेन्डा


काठमाडौँ । उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ का लागि जे.बि. (दीपक) अधिकारीले आफ्नो प्रत्यक्ष उम्मेदवारी घोषणा गरेका छन् । “तपाईं विश्वास दिनुहोस्, म उज्यालो भविष्य बनाइदिनेछु” भन्ने मुख्य नाराका साथ उनी चुनावी मैदानमा उत्रिएका हुन् ।

को हुन् जे.बि. दीपक अधिकारी?
पेशाले लेखक (उपन्यास ‘हिँडे पुगिन्छ’ का लेखक) र विगत १५ वर्षदेखि राजनीतिमा सक्रिय अधिकारी समाजशास्त्र र राजनीति शास्त्रका विद्यार्थी हुन् । उनले विगत २० वर्षदेखि शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन् । एम्नेस्टी इन्टरनेशनल, स्काउट, र लायन्स क्लब जस्ता सामाजिक संस्थाहरूमा उनको सक्रियता रहँदै आएको छ ।

लोडसेडिङ अन्त्यका नायकसँग सहकार्य: कुलमान घिसिङसँगै रहेर देशको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि दैनिक १८ घण्टा खटिने उनले अठोट गरेका छन् ।

वातावरण संरक्षण: सन् २०१७ देखि उनले चलाउँदै आएको “एक घर, एक विरुवा” अभियानलाई थप सशक्त बनाउने ।

आर्थिक समृद्धि: जल, जमिन र जडिबुटीलाई आधार मानी PPP (निजी-साझेदारी) मोडलमा काम गर्ने र नेपालका १४ वटा हिमालको ‘ब्रान्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्ने ।

नि:शुल्क सेवाहरू: ५० युनिटसम्म बिजुली नि:शुल्क गर्ने, ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात नि:शुल्क गर्ने र मुख्य सार्वजनिक स्थलमा नि:शुल्क वाईफाई उपलब्ध गराउने ।

पूर्वाधार विकास: काठमाडौँ ४ का खोलाहरूको समस्या समाधान गर्न ‘हाइड्रोलोजिकल इन्जिनियरिङ’को प्रयोग गर्ने, वैज्ञानिक ढल निकास र धुलोमुक्त सडक निर्माण गर्ने ।

डिजिटल र स्मार्ट शिक्षा: विद्यालयहरूमा डिजिटल प्रणाली लागू गर्ने र कक्षा १० सम्म पूर्ण नि:शुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने ।

उनको चुनावी घोषणापत्रमा स्वास्थ्य बीमा, युवाहरूका लागि स्टार्टअप र सीपमूलक तालिम, र को-वर्किङ स्पेसको अवधारणा पनि समेटिएको छ । अधिकारीले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ अपनाउने र संविधानमा आवश्यकता अनुसार संशोधन गरी जनता केन्द्रित बनाउन भूमिका खेल्ने समेत उल्लेख गरेका छन् ।

उनको चुनाव चिह्न ‘बलिरहेको चिम’ रहेको छ । क्षेत्र नं. ४ का मतदाताहरू माझ अधिकारीले एक अध्ययनशील र विकासप्रेमी नेताको रूपमा आफ्नो पहिचान बनाउन खोजेका छन् ।