काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामेश्वर फुयालले आफ्नो निर्वाचन क्षेत्रको कायापलट गर्ने गरी महत्वाकांक्षी योजनाहरू अघि सारेका छन् । उनका प्रतिबद्धता पत्रमा विशेष गरी दुईवटा पक्षलाई प्राथमिकता दिइएको छ, विश्वस्तरको धार्मिक पर्यटन सञ्जालको निर्माण र बागमती नदीको पुनर्जीवन।
फुयालले काठमाडौँ ३ लाई विश्व मानचित्रमा जोड्ने गरी दुईवटा ठूला सर्किटको प्रस्ताव गरेका छन्। म्यानमारदेखि लुम्बिनी, स्वयम्भू हुँदै बौद्धनाथ र नमोबुद्धसम्म जोड्ने अन्तर्राष्ट्रिय बौद्ध परिपथ उनको मुख्य एजेण्डा हो। त्यस्तै, काशीदेखि पशुपतिनाथ र गोकर्णेश्वर हुँदै मुक्तिनाथसम्म जोड्ने अन्तर्राष्ट्रिय पशुपति परिपथ मार्फत हिन्दु धर्मावलम्बीहरूलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ।
यसका साथै गोकर्णदेखि गुह्येश्वरीसम्मको भागलाई ‘राष्ट्रिय झण्डा उद्यान’का रूपमा विकास गर्ने र त्यहाँ पृथ्वीनारायण शाह तथा बिसे नगर्चीको पूर्ण कदको सालिक निर्माण गरी ऐतिहासिक पर्यटनलाई प्रवर्द्धन गर्ने योजना उनले अघि सारेका छन्।
नदी सभ्यताको संरक्षणका लागि उम्मेदवार फुयालले सुन्दरीजलदेखि गुह्येश्वरीसम्म फोहोररहित स्वच्छ बागमती बगाउने संकल्प गरेका छन्। बागमतीका दुवै किनारालाई हरियाली बनाउने, कोरिडोरलाई व्यवस्थित गर्ने र अपाङ्ग अस्पताल नजिक रोकिएको पक्की पुलको निर्माणलाई पूर्णता दिने उनको योजना छ।
विशेष गरी मेलम्ची र सुन्दरीजलको पानी गोकर्णेश्वरकै भूमि भएर अन्यत्र लगिए पनि स्थानीय बासिन्दाले पानी नपाएको गुनासोलाई सम्बोधन गर्दै स्थानीयको पानीमा पहुँच पुर्याउन पहल गर्ने प्रतिबद्धता जनाए। निर्माणाधीन धाप ड्यामलाई सम्पन्न गरी बागमतीमा पानीको बहाव सन्तुलनमा राख्ने कामलाई पनि प्राथमिकतामा राखेका छन्।
संस्कृति संरक्षणका लागि तामाङ संग्रहालय स्थापना, नेवा सम्पदा अध्ययन केन्द्र र विभिन्न धार्मिक महोत्सवहरूको आयोजनामा जोड दिने फुयालको योजना छ। साथै, तिलगंगा-ताम्रगंगा ‘हरित सुरुङ मार्ग’को निर्माण र माकलवारी क्षेत्रमा झोलुङ्गे पुल निर्माण गरी आवागमनलाई सहज बनाउने कुराले स्थानीय विकासमा नयाँ आयाम थप्ने देखिन्छ।
ठुला र महत्त्वपूर्ण योजनाहरूले मूर्त रूप पाएमा काठमाडौँ ३ केवल एउटा निर्वाचन क्षेत्र मात्र नभई सांस्कृतिक र वातावरणीय नमुना क्षेत्र बन्ने विश्वास गरिएको छ।












प्रतिक्रिया दिनुहोस्