काठमाडौं। काठमाडौं क्षेत्र नम्बर १ को चुनावी सरगर्मी यसपटक निकै रोचक मोडमा पुगेको छ। विगतका दुई निर्वाचनमा झिनो मतान्तरले पराजित भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तेस्रो पटक चुनावी मैदानमा छन्।
यसअघि उनलाई रोक्दै आएका नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह यसपटक प्रतिस्पर्धामा नहुनु मिश्रका लागि सबैभन्दा सकारात्मक पक्ष बनेको छ।
दुई पटकसम्म तगारो बनेका सिंह चुनावी दौडबाट बाहिरिएसँगै मिश्रका लागि मुख्य चुनौती हटेको देखिन्छ। अघिल्लो निर्वाचनमा मात्र १२५ मतले पराजित भएकाले मतदातामा “यसपटक त जिताउनुपर्छ” भन्ने भावनात्मक लहर देखिएको छ।
पत्रकारिता र ‘हेल्प नेपाल नेटवर्क’ मार्फत बनाएको परोपकारी र भ्रष्टाचार विरोधी छविका कारण उनीप्रति सर्वसाधारणको विश्वास कायमै छ।
सहज देखिए पनि मिश्रका लागि बाटो पूर्णतः निष्कन्टक भने छैन। रास्वपाबाट उम्मेदवार बनेकी रञ्जु दर्शना (न्यौपाने) ले उनको ‘कोर’ युवा र वैकल्पिक मतदाता काट्न सक्ने आकलन गरिएको छ।
साथै, राप्रपाको विचार (राजावादी/कन्जरभेटिभ) र काठमाडौंका उदारवादी मतदाताबीचको सन्तुलन मिलाउनु उनका लागि मुख्य परीक्षा हुनेछ।
“पृथ्वीनारायण शाहले काठमाडौंमाथि तेस्रो प्रयासमा विजय हासिल गरेका थिए” भन्दै फेसबुकमा लेखेका मिश्र यसपटक इतिहास दोहोर्याउने दाउमा छन्।
४८,४८९ मतदाता रहेको यस क्षेत्रमा कांग्रेसका प्रवल थापा र एमालेका मोहनराज रेग्मीसँग उनको कडा प्रतिस्पर्धा हुने देखिए पनि ‘तेस्रो प्रयास’ सफल हुनेमा उनी र उनका समर्थक निकै आशावादी छन्।












प्रतिक्रिया दिनुहोस्