Logo

बागमती पेज

२३ फाल्गुन २०८२, शनिबार

काठमाडौँ-४ मा पुकार बमको सानदार जित: २९ हजार बढी मतका साथ निर्वाचित


काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम भारी मतान्तरले विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार बमले २९ हजार १४२ मत प्राप्त गर्दै संसद्को यात्रा तय गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे । यस्तै, नेकपा एमालेका प्रभावशाली नेता डा. राजन भट्टराई ५ हजार ७३३ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् ।

निर्वाचनको सुरुवाती चरणदेखि नै अग्रता लिइरहेका बमले आफ्ना प्रतिस्पर्धीहरूलाई ठुलो मतान्तरले पछाडि पारेका हुन् । युवा नेताका रूपमा चिनिएका बमको यो जितलाई काठमाडौँ-४ मा वैकल्पिक राजनीतिक शक्तिको बलियो उदयका रूपमा हेरिएको छ ।

पराजित उम्मेदवारहरूले निर्वाचनको परिणामलाई सहज रूपमा लिँदै मतदाताको निर्णयको सम्मान गर्ने बताएका छन् । नवनिर्वाचित सांसद बमलाई क्षेत्रका मतदाता र समर्थकहरूले बधाई दिँदै विजय उत्सव मनाइरहेका छन् ।