काठमाडौं । केही दिनयता काठमाडौंलगायत देशभर एकाएक बढेको प्रदूषण बिहान र साँझ झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ रहेको छ ।
‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वावतारण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भनेका छन्, ‘त्यसैले दिउँसोको तुलनामा बिहान साँझ प्रदूषण झनै खतरनाक छ ।’
विभागले बिहान र साँझ झनै सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । बिहानपख केही दिनसम्म प्रातकालीन पद यात्रा (मर्निङ वाक) नगर्न पनि वातावरणविद्हरूले सल्लाह दिएका छन् ।
विभागका अनुसार शनिवारको तुलनामा आईतवार प्रदूषणमा थोरै सामान्य सुधार भए पनि आईतवारको प्रदूषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक रहेको छ ।
सोमवारसम्म प्रदूषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ । प्रवक्ता जोशीका अनुसार सोमवारदेखि सवारीसाधानमा जोर बिजोर प्रणाली लागू गर्न, स्कूल, कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ । ‘पहिलो चरणमा हामीले सचेत गराएका छौं । सोमवारसम्म पनि प्रदूषण कम नभए सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्ने, स्कूल कलेज बन्द गर्न जस्ता काम गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘यसबारेमा सोमवार छलफल गरी निर्णय गर्छौं ।’
आईतवार साँझ ललितपुरको भैंसेपाटीमा रहेको स्टेसनले वायू गुणस्तर सूचकांक २७० देखाएको छ । विभागका अनुसार शनिवार भैंसेपाटीको औसत प्रदूषण २६३ देखिएको छ । आईतवार साँझ काठमाडौंको रत्नपार्कमा १६७ देखिएको छ । आईतबार चितवनको सौराहमा औसत प्रदूषण २९० देखिएको विभागले जनाएको छ ।
शनिवार र आईतवारको तुलनामा शुक्रवार काठमाडौंमा प्रदूषण बढेको विभागको भनाइ रहेको छ । शुक्रवार भैंसेपाटीमा ४४७ र रत्नपार्कमा २०० को हाराहारीमा देखिएको थियो । विगत केही दिनदेखि काठमाडौं वरिपरि र मध्यतराईका जिल्लाका वनमा एकैपटक ठूलो संख्यमा डडेलो लागेपछि काठमाडौं लगायत देशभर एकाएक प्रदूषण बढेको छ । डढेलोको प्रभाव काठमाडौंसम्म आएको जनाइएको छ ।
अन्तराष्ट्र्रिय रुपमा वायू प्रदूषणको मात्रा नाप्ने वायु गुणस्तर सूचकांक (इन्डेक्स अक्वा ) १५०–२०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा प्रभाव पार्ने हिसाबले अस्वस्थकर मानिएको छ । यसलाई रातो रङ दिइएको छ । शून्यदेखि ५०० सम्मको प्रदूषणको स्तरलाई ६ तहमा बाँड्दा रातो रङ खतराको हिसाबले चौथोमा पर्छ । २००–३०० अंकसम्मलाई बैजनी रङ दिइन्छ । यो खतराको हिसाबले पाँचौं तह हो । यसलाई अत्यन्त अस्वस्थकर मानिन्छ । ३०० अंक नाघेपछि खैरो रङ दिइन्छ । यो तहलाई ‘घातक’ स्तर मानिएको छ ।
अक्वा मापन गर्दा पीएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वहरु हेरिन्छ । प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायूमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सुक्ष्म कणहरुलाई पीएम २.५ का रुपमा मापन गरिन्छ । प्रतिघनमिटर वायूमा १० माइक्रोमिटर ब्यास भएका कणलाई पीएम १० को रुपमा नापिन्छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्