Logo

भवानी कार्की

१५ जेष्ठ २०७९, आइतबार

गगनले ओलीलाई व्यङ्ग्य गर्दा शान्ता चौधरीको प्रतिवाद


काठमाडौँ । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्ने गरी काँग्रेस सांसद गगनकुमार थापाले संसद्मा दिएको अभिव्यक्तिमा आपत्ति जनाएकी छन्।


बिरामी भनेर संसद्मा बसेर सम्बोधन गर्ने र स्वस्थ मानिसजस्तै तीन घण्टा बोल्ने भन्दै थापाले व्यङ्ग्य गरेका थिए। निर्वाचनमा भोगेको पराजयले रन्थनिएका प्रतिपक्षी दलका नेता बसेर उठेर सुतेर जसरी बोले पनि हुने र आफूहरूले सुन्दिएर बिचरा बाहेक अरू भन्ने ठाउँ नरहेको थापाको टिप्पणी थियो।


यसमा आपत्ति जनाउँदै शान्ताले कुर्सीमा बसेको कुरालाई नकारात्मक ढङ्गले प्रस्तुत गरेको भन्दै प्रतिवाद गरेकी हुन्। स्वास्थ्यका कारणले बसेर सम्बोधन गरेको कुरालाई नकारात्मक ढङ्गले प्रस्तुत गर्नुले थापामा मानवता हराएको देखिएको उनको टिप्पणी छ।


‘माननीय गगनजी तपाईँलाई म सम्मान गर्छु। तपाई प्रति नेपाली जनताले ठुलो आशा र भरोसा राखेको छ। तर तपाईँ आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढङ्गले संसद्मा विरोधाभास ढङ्गले बोल्दा तपाईँमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो,’ उनले भनेकी छन्।