Logo

बागमती पेज

आश्विन २, २०७७ शुक्रबार

‘खुला आकाशमुनि भोकै बस्‍ने दिन गए’: मुख्यमन्त्री पौडेल


सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कुनै पनि समुदाय अब खुला आकाशमुनी र भोकै बस्नु नपर्ने बताएका छन् । ‘अब जनताले घर नपाएर खुला आकाशमुनि बस्ने दिन गए’, मुख्यमन्त्री पौडेलले प्रष्टिकरण दिँदै भने, ‘कोही भोको र घरविहीन हुँदैनन्, सरकारको मिसन बनाएर काम गरेको छ ।’

शुक्रबार ‘एकिकृत नमुना मुसहर बस्ती’को नयाँ भवनहरु उद्घाटन तथा साँचो हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले संविधानले प्रदत्त गरेको अधिकार आवास सुविधाअन्तर्गतको भवन संविधान दिवसको सन्दर्भ पारेर हस्तान्तरण गरिएको चर्चा गरे । उक्त बस्ती बागमती प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–११ तल्लो पत्रिङ्गामा मुसहर समुदायका लागि निर्माण गरिएको हो ।

मुख्यमन्त्री पौडेलले सरकारको गौरवका योजनामध्ये बस्ती विकास कार्यक्रम पनि रहेको जनाउँदै एकीकृत मुसहर बस्ती निर्माण अहिलेको संविधानको उपलब्धि भएको बताए । मुख्यमन्त्री पौडेलले शौचालय र खानेपानी यही आर्थिक वर्षमा प्रदेश सरकारले मुसहर बस्तीका लागि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

बागमती प्रदेश सरकारले विभिन्न जिल्लामा विपन्न वर्गका १ हजार ३ सय घर निर्माण गरिरहेको उनले सुनाए । तीमध्ये सिन्धुलीको दुधौली नगरपालिकामा ३५५ मुसहर समुदायका घर निर्माण भएर साँचो हस्तान्तरण गरिएको हो ।

दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले नगरपालिकाका विपन्न मुसहर समुदायका ७५० घर निर्माण गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा ३५५ घर निर्माण सम्पन्न भई सम्बन्धित परिवारलाई साँचो हस्तान्तरण गरिएको बताए । मुसहर समुदायलाई तत्काल आवासको सुविधा दिएको र अब रोजगारी दिन स्थानीय सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।

दुधौलीमा दुई वर्षअघिदेखि मुसहर बस्तीका घर बनाउन सुरु भएको थियो । दुधौली नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ९, १० र ११ मा मुसहर समुदायको ३५५ घर ११ करोड २२ लाख ७ हजार ६५१ रुपैयाँको लागतमा निर्माण भएको हो । रंगिन जस्तापाताले लहरै बनेका घरले मुसहरको नमुना बस्ती यतिखेर उज्यालिएको छ । भर्खर नयाँ घरमा सरेकी श्रद्धा मुसहरले हुरी बतास, आगलागी र सर्पको त्रासबाट बल्ल मुक्ति पाएको जनाइन् ।