Logo

बागमती मिडिया

आश्विन ३, २०७७ शनिबार

कोरोना : हर्ड इम्युनिटीको विकास नभएसम्म वर्षेनी फैलिन्छ ?


अहिले धेरैलाई चासो लाग्ने विषय हो कि ‘कोरोना भाइरसको जोखिम कहिले अन्त्य हुन्छ ?’ विश्व यतिबेला कोरोनाको भ्याक्सिन बनाउने प्रयासमा छ । तर केही भ्याक्सिनहरू परीक्षणको क्रममा रहेपनि अहिलेसम्म त्यसको तात्विक उपलब्धि हासिल हुन सकेको छैन ।

विश्वमा कोरोना भाइरस अरू सामान्य रोगकै हैसियतमा कहिले रहन्छ ? भनेर सोध्यो भने यसको उत्तर दिन अहिले विश्वका कोही पनि समर्थ छैनन् । वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् र कोरोना भाइरसको खोप कति समयपछि आउँछ भन्ने समेत यकिन छैन । जतिले यसको बारेमा बताएका छन् ती सबै अनुमानहरू मात्रै हुन् ।

वैज्ञानिकहरूको एउटा समूहले अनुसन्धानपछि केही समय अघि मात्रै बताएका छन् कि हर्ड इम्युनिटीको विकास नभएसम्म कोरोना भाइरसको अहिलेको समस्या समाधान हुने छैन । हर्ड इम्युनिटी भनेको कुल जनसंख्याको ७० प्रतिशतलाई कोरोना लागेपछि बाँकी सबैमा आफैं एन्टिबडी विकास हुन्छ भन्ने जनस्वास्थ्यको मान्यता हो । धेरै वैज्ञानिक अनुसन्धानहरूले ठूलो जनसंख्यामा कोरोना भाइरस विरुद्धको एन्टिबडी विकास नभएसम्म यसको महामारी अन्त्य नहुने निष्कर्ष निकालेको छ ।

हर्ड इम्युनिटीको अवधारणा पहिलेदेखि नै देखिँदै आएको कुरा हो । एकाध देशले यसलाई प्रयोगमा समेत ल्याएका छन् । वैज्ञानिकहरूले यो पनि औंल्याए कि कोरोना भाइरसले फैलाएको कोभिड–१९ को संक्रमण तापक्रममा ठूलो अन्तर आउने मुलुकहरूमा मौसमी किमिसको हुन सक्ने समेत अध्ययनले देखाएको छ ।

लेबनानको अमेरिकी विश्वविद्यालय अफ बेरूतका डा हसन जारकेट भन्छन्, ‘कोविड १९ यहाँको संक्रमण अहिले कम भयो भने पनि हर्ड इम्युनिटीको विकास नभएसम्म हरेक वर्ष फैलिन्छ ।’ त्यसैले मानिसहरूले कोरोनासँगै जिउन सिक्नुपर्ने उनको ठहर छ । ‘अब हामीहरू कोरोना भाइरससँगै बस्न सिक्नुपर्छ । यसको रोकथाम मास्क लगाउने, शारीरिक दुरी कायम गर्ने, हात सफा गर्ने र भिड मुक्त हुनको लागि आवश्यक उपायहरूद्वारा अभ्यास गर्नुपर्छ ।’ जारकेटले भने ।

त्यस्तै, दोहास्थित कतार युनिभर्सिटीका डा. हादी यासीन पनि हर्र्ड इम्युनिटीको विकास नभएसम्मको लागि कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने बताउँछन् ।

बढ्दो तापमानयुक्त क्षेत्रहरूमा बढी खतरा !
वैज्ञानिकको यो पनि भनाइ छ कि धेरै सरुवा रोगहरू र त्यसमा पनि श्वासप्रश्वास सम्बन्धी विषाणुहरू मौसमी रूपमा नियमित दोहोरिने गर्छन् । विशेषगरी त्यस्ता क्षेत्रहरूका मान्छे यसको उच्च जोखिममा हुन्छन् जहाँ तापमानमा तीब्र भिन्नता आउने गर्छ । उदाहरणका लागी इन्फ्लूएन्जा र अन्य प्रकारका कोरोना भाइरस जाडो मौसममा वा चिसो ठाउँमा बडी फैलिन्छ । यस अध्ययनका शोधकर्ताहरूले सार्स–कोभ–२ को अध्ययन गरे र यो तथ्य फेला पारेका छन् कि यसमा पहिलेदेखि नै भाइरल हुने र र फैलिने गुण देखिएको थियो । साथसाथै मौसमी समस्याको रूपमा दोहोरिरहनको लागि होस्ट फ्याक्टर चाहिन्थ्यो, त्यो पनि यसमा देखिएको छ ।

बन्द स्थानहरूमा हुने भिड खतरनाक
वैज्ञानिकहरू भन्छन् ‘यो भाइरस धेरै दिनसम्म जमिनको सतहमा रहन सक्छ, साथै केही घण्टा हावामा पनि रहन सक्छ । यस कारणले मानिसहरूमा यो भाइरसबाट संक्रमित हुने बढी जोखिम रहन्छ छ । यो भाइरस बन्द स्थानहरूमा भारी भिडका कारण धेरै छिटो फैलिन सक्छ । विशेषगरी तापक्रम परिवर्तनको समयमा र ओसिलो ठाउँमा यो भाइरसले वर्षमा धेरै पटक आक्रमण गर्न सक्ने उनीहरूको ठहर छ ।

भाइरस प्राकृतिक संक्रमण वा खोपको कारण रोकिनेछ
वैज्ञानिकहरू भन्छन् कि हर्ड इम्युनिटी दुई किसिमले विकास हुने गर्छ । पहिलो स्वाभाविक रूपमा भाइरसले आक्रमण गरेपछि र दोस्रो खोपको प्रयोग गरेर ।

कोभिड १९ को संक्रमण फ्लुभन्दा छिटो फैलिन्छ, यसले मान्छेलाई अरूभन्दा बढी कमजोर बनाउँछ । प्रतिरक्षा बिस्तारै विकास भएपछि यो भाइरस एक मौसमी रोगको रूपमा विकास हुन थाल्नेछ । किनभने अन्य प्रकारका कोरोना भाइरसहरू जस्तै एनएल ६३, एचकेयू १ आदि पनि प्रत्येक वर्ष इन्फ्लुएन्जा जस्तै फैलिनेगर्छ ।