Logo

बागमती पेज

आश्विन १९, २०७७ सोमबार

मृतक र घाइते नेपालीको परिवारलाई क्षतिपूर्ति दिन क्यानडा सरकार तयार


काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा चार वर्षअघि भएको आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते भएका नेपालीहरुको परिवार र क्यानडा सरकारबीच मिलापत्र भएको छ ।

२० जुन २०१६ मा क्यानडाको राजदूतावासअघि भएको आत्मघाती आक्रमणमा परी १५ नेपाली र केही भारतीय सुरक्षागार्डको मृत्यु भएको थियो ।

विहानको समयमा नेपाली सुरक्षागार्डहरु बस्ने घरबाट उनीहरुलाई क्यानडेली दुतावास तर्फ आउँदै गर्दा आत्मघाती आक्रमण भएको थियो । तालिवानले जिम्मा लिएको त्यो आक्रमणमा परी झण्डै एक दर्जन नेपाली सुरक्षागार्ड घाइते भएका थिए ।

उनीहरुलाई नेपाल सरकारको पहलमा भारतको एपोलो अस्पतालमा ल्याएर उपचार गरिएको थियो । विष्फोटको ठूलो आवाजका कारण घाइते भएका धेरै कान्न नसुन्ने समस्या भोगिरहेका छन् ।

घटनामा ज्यान गुमाएकाहरुको परिवार र घाइतेले दुई करोड डलर क्षतिपूर्ति माग गर्दै पछि क्यानडा सरकारविरुद्ध दुई वर्षअघि अदालतमा मुद्दा दायर गरेका थिए । क्यानडा सरकारले घटनाका घाइते र मृत्यु भएका परिवारसँग गोप्यरुपमा यो मुद्दा सुल्झाएको समाचार संस्था सीबीसी न्युजले जनाएको छ ।

क्यानडाको दूतावासको सुरक्षाको जिम्मा लिएको कम्पनीले आफ्ना सुरक्षाकर्मीहरुलाई घटनापछि केहीलाई आशिंक क्षतिपूर्ति दिएको र केहीलाई भने कुनै पनि क्षतिपूर्ति दिएको थिएन । घाइतेको सुरुवाति उपचार गरिदिएको कम्पनी नै गायब भएपछि पीडितले क्यानडा सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।

चार वर्षपछि आक्रमणका पीडितका परिवारसँग सहमति गरेर मुद्दा मिलाइएको समाचारमा उल्लेख गरिएको छ ।

पीडितको परिवारको पहिचान भने गोप्य राखिएको छ । ‘म तपाइँलाई के भन्न चाहन्छु भने पीडितका परिवार यो मिलापत्रबाट सन्तुष्ट छन् र उनीहरु क्यानडा सरकारले बम आक्रमणको समयमा काबुलमा रहेको दूतावासको रक्षा गरिरहेका मानिसहरुको बलिदान र सेवालाई सम्मान गरेको विश्वास गरेका छन्’, नेपाली परिवारको तर्फबाट मुद्दा लडिरहेका वकिल जो फियोरेन्टेले भनेका छन् ।

उनले अब क्यानडा सरकारले सुरक्षागार्ड लिँदा नाम चलेको र विश्वासिलो कम्पनी छनौट गर्ने नीति लिने विश्वास व्यक्त गरेका छन् ।