Logo

बागमती पेज

आश्विन २०, २०७७ मंगलबार

प्रदेशसभामा कांग्रेस सांसदको तोडफोड


बुटवल । प्रदेश ५ को स्थायी राजधानीलाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेशसभामा तोडफोड गरेका छन् ।

प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको प्रस्ताव छ । त्यसबारे छलफलका लागि बोलाइएको प्रदेशसभामा कांग्रेस सांसदहरुले नाराबाजी गरे र संसद बैठक केहीबेरका लागि स्थगित भयो । त्यसअघि बोलेका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमतिका आधारमा राजधानी तोक्नुपर्ने बताएका थिए ।

दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले फरकमतको सम्मान गर्ने तर सभाको कारबाही अगाडि बढाउने बताए ।

प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई समय दिए । नाराबाजी गरिरहेका विपक्षी सांसदहरु मन्त्री घर्तीको बाटो छेक्न रोष्टम छेउ गए । उनीहरु मन्त्री केसीलाई रोष्टममा पुग्नबाट रोक्न चाहन्थे ।

मन्त्री अगाडि बढ्न खोज्दा प्रस्तावको कागज खासाखोस समेत भयो । तर, मर्यादापालकको साथ पाएका मन्त्री केसी रोष्टममा पुगे र प्रस्ताव पेश गरे । त्यही बेला नाराबाजी गरिरहेका मध्ये सांसद बसिरुद्दिन खाँले पहिलो रोमा रहेको कुर्सी उचालेर टेबलमा पछारे ।

अष्टभुजा पाठक र बैजनाथ कलवारले पनि कुर्सी उचालेर पछारे । त्यसपछि कांग्रेस नेताहरु बस्ने कुर्सी, टेबल र माइकहरु छताछुल्ल भए ।

केहीबेर मौन रहेका सभामुख घर्तीले न तोडफोडबारे केही बोले, न सभाको कारबाही रोके । बरु तोडफोडका कारण भद्रगोल अवस्थामै सभाको कारबाही अगाडि बढाए ।

छलफलमा भाग लिन सांसदहरुलाई समय उपलब्ध गराए । होहल्लाकै वीचमा छलफलको औपचारिकता पूरा भयो । विपक्षीको नाराबाजी त छँदै थियो, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) कै केही सांसद उठेर हात उठाइरहेका थिए ।

तर, सभामुखले संशोधनका लागि १८ घन्टे सूचना दिए र छलफलमा उठेका प्रश्नहरुको जवाफका लागि आन्तरिक मामिला मन्त्रीलाई समय दिए ।

कानुनमन्त्री केसी रोष्टममा आइपुग्दासम्म अवस्था यस्तो भयो कि सभामुख घर्तीको सुरक्षाका लागि मर्यादापालकहरु दायाँबाया कुसन लिएर उभिनु परेको थियो । त्यसक्रममा मन्त्री केसी यति आक्रोशित भए कि विरोध गर्ने सांसदहरुतर्फ इंगित गर्दै घिसारेर बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए ।