Logo

बागमती पेज

कार्तिक २१, २०७७ शुक्रबार

बोक्सी भगाउने भन्दै पन्यूँले डाम्ने ‘माता’ पक्राउ


काभ्रे । पाँचखाल नगरपालिका–१२ की माता भनिने १९ वर्षीया ईश्वरी थापालाई प्रहरीले पक्राउ गरेको छ। पाँचखाल नपा–९ की ३७ वर्षीया शर्मिला विकलाई ‘बोक्सी लागेको उपचार गराइदिन्छु’ भन्दै पन्युले डामिदिएर पीडामाथि अर्काे पीडा दिने मातालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको हो।

डिएसपी कुमार विक्रम थापाले पाँचखाल नपा–९ की ३७ वर्षीया पीडित विकमाथि अमानवीय काम गरेकोमा मुद्दा चलाएको जानकारी दिए। पक्राउ परेकी महिला डेढ वर्षदेखि पाँचखाल आसपासको क्षेत्रमा माताका रुपमा परिचित थिइन्।

डिएसपी थापाका अनुसार पीडित विक काम्ने र कराउने भएपछि घर नजिकै रहेको माता भनिने थापाले आफूले यस्तो रोगको धेरैको उपचार गरिसकेको भन्दै पन्यूँ तताउन लगाएर डामेको उजुरीमा उल्लेख गरिएको छ। तर, परिवारले डामिदिन दबाब दिएपछि मात्रै आफूले डामेको माता भनिने थापाको भनाई छ। पक्राउ परेकी थापालाई अहिले प्रहरी हिरासतमा राखिएको छ।

विगत दुई वर्षदेखि डिप्रेशनको औषधी खाइरहेको र ‘छोप्ने’ व्यथासमेत रहेका पीडित विकलाई माताले तातो पन्युले डामेपछि ठिक हुने बताउँदै पन्युले आफूमाथि डामेको उनको आरोप छ। पीडित विकलाई कोसी पारिबाट माइती पक्ष आएपश्चात् घरेलु उपचार मात्रै गरिएर राखेको अवस्थामा धुलिखेल अस्पताल ल्याएको थियो।

तर, अस्पतालले काठमाडौँ लैजान सुझाव दिएपछि उनलाई थप उपचारको लागि काठमाडौँस्थित छाला अस्पतालमा पुर्‍याइएका थिए। पीडितका भाइ दिपक रसाइलीले विरामीको अवस्था चिन्ताजनक नभएपनि सामान्य पनि नरहेको बताए। ‘माताले दिदीको अनुहार र शरिरका अन्य भागमा पनि पन्युले डामेको छ,’ उनले भने, ‘यस्तो अमानवीय काम गर्ने माता विरूद्ध मुद्दा हालेका छौं, आशा छ : न्याय पाउँछौँ।’