Logo

बागमती पेज

मंसिर २०, २०७७ शनिबार

हेटौंडामा मातहत प्रहरीलाई महानिरीक्षकको कडा निर्देशन


हेटौंडा। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले बिहीबार बागमती प्रदेश प्रहरीअन्तर्गत (उपत्यका बाहेक) १० वटा जिल्ला प्रहरी प्रमुखलाई कार्यसम्पादनबारे कडा निर्देशन दिएका छन्। ​

​आइजी थापाले जिल्लाको नेतृत्व गरिरहेका १० जना प्रहरी उपरीक्षकसँगै प्रदेश अपराध अनुसन्धान शाखा प्रमुख, प्रदेश ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गणका प्रमुख तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत अधिकृतलाई पछिल्लो समय प्रहरीको छविमा प्रश्न उठिरहेको भन्दै सतर्क रहन निर्देशन दिएका थिए। ​

पूर्ण व्यवसायिक र इमान्दार चरित्र निर्वाह गर्न सक्ने व्यक्ति मात्रै प्रहरी हुन सक्ने भन्दै क्षत्रीले व्यक्तिगत हित र स्वार्थ नहेरी सामाजिक हित र सरोकारका विषयमा संवेदनशील भने।

नागरिकले प्रहरीमाथि गर्ने भरोसा अझै मजबुत बनाउन प्रहरी अधिकारीको ठूलो भूमिका हुने उनको भनाइ थियो।

बागमती प्रदेश प्रहरी कार्यालयको सभाहलमा भएको निर्देशन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्त कुमार लामाले बागमती प्रदेश प्रहरी कार्यालयले सम्पादन गरेका महत्वपूर्ण कार्य, योजना तथा भावी रणनीतिलगायत विषयलाई समेटेर तयार पारिएको विवरण प्रस्तुत गरेका थिए।