Logo

बागमती पेज

मंसिर २९, २०७७ सोमबार

सार्वजनिक जग्गा संरक्षणका लागि विशेष योजना ल्याउँदैछौ: अध्यक्ष तामाङ


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का वडाध्यक्ष सुमन तामाङले वडामा रहेका सार्वजनिक जग्गाहरुको संरक्षणका लागि विशेष योजना बनाउने तयारी गरेको बताएका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा .राजन भट्टराई संगै वडा नं ८ भित्रका विभिन्न स्थानमा रहेका विकास योजनाको निरीक्षणका क्रममा सार्वजनिक जग्गाहरुको अनुगमन गरेका अध्यक्ष तामाङले सोही जग्गाको संरक्षणका लागि वडाले योजना बनाइरहेको जानकारी दिए ।

बूढानीलकण्ठ नगरपालिकामा धेरै सार्वजनिक जग्गाहरु रहेको जानकारी दिदै अध्यक्ष तामाङले मर्क्सीय गुरुकुलको करिव ७८ रोपनी, लोकेश्वर मन्दिर क्षेत्रको ५४ रोपनी, भंगाल क्षेत्रको २७ रोपनी सहित अन्य क्षेत्रमा रहेका सबै जग्गाहरुको विवरण संकलन गर्ने बताए । उनले भने, रेखांकन र संरक्षण कार्यलाई अभियानका रुपमा संचालन गरिने छ । वडा भित्रका कुनैपनि स्थानमा जग्गा अतिक्रमण भएको भए वडा कार्यालयलाई जानकारी गराउन समेत अध्यक्ष तमाङले आग्रह गरेका छन् ।

वडामा रहेका सार्वजनिक जग्गा र सम्पत्ति संरक्षण गर्न नसके भावी सन्तति प्रति अन्याय हुने भन्दै उनले हाल वडामा रहेका २ वटा सार्वजनिक सौचालयको शंख्या बढाउँदै लैजाने समेत जानकारी दिए ।