Logo

बागमती पेज

मंसिर ३०, २०७७ मंगलबार

पशुपति भक्तजनका लागि खुल्दै, क्षमापूजा गर्न पुगिन् राष्ट्रपति


काठमाडौं । कोरोनाभाइरसका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि खुल्ने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर बुधबारदेखि भक्तजनका लागि मन्दिर खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने मन्दिर झण्डै ९ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन् । सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि पशुपतिनाथ मन्दिर खुला नभएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घसंस्थाले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए ।

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो । यस वर्ष साउनको सोमबारसमेत पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गर्ने गरेका थिए । साउनको सोमबार भक्तजनले पशुपति क्षेत्र परिक्रमा गरेर आस्था प्रकट गरेका थिए ।

इतिहासमै यति लामो अवधि पशुपतिनाथ मन्दिर बन्द भएको हो । चैतपछि पशुपतिनाथको नित्यपूजा आरती चलिरहे पनि भक्तजनले विशेष पूजा र दर्शन गर्न भने नपाएका छन् ।

बुधबारदेखि मन्दिर खुल्ने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिको दर्शनका पुगेकी छिन् । राष्ट्रपतिले राष्ट्रप्रमुखको हैसियतमा क्षमापूजा गरेको बताइएको छ ।