Logo

बागमती पेज

पुस ६, २०७७ सोमबार

महालक्ष्मी विकास बैङ्कको कुमारीपाटी शाखाका प्रबन्धकसहित तीनजना पक्राउ


काठमाडौं । महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाका ब्रान्च म्यानेजरसहित तीन जना बैङ्कका कर्मचारीलाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्रान्च म्यानेजर अनिश सिंह सिजापति, कुमारीपाटी शाखाका पूर्व प्रबन्धक स्मृति राना र पिंकु पालिखे छन् । लगनखेलका सुन व्यापारीलाई कमसल धितो राखेर बढी ऋण दिएको कसुरमा उनीहरुलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान व्यूरोका डिआईजी सहकुलबहादुर थापाले बताए । ऋण दिँदा तिनैजना शाखा प्रबन्धकले हस्ताक्षर गरेका थिए ।

कम तौलका सुनका गहना धितो राखेर धेरै ऋण लिने सुन व्यापारी पूर्ण राई, देवानन्द राई र देवानन्दको सुन पसलका मिस्त्री सन्दिप लिम्बुलाई व्यूरोले यसअघि नै पक्राउ गरेको थियो ।

बैंक मेनेजरसँगको मिलेमतोमा सुन व्यापारीले ७ करोड ४२ लाख बैंकलाई नोक्सान गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुलाई बैंकिङ कसुर मुद्दा चलाएको छ ।

पक्राउ गरिएका ३९ बर्षिय पिंकु पालिखे हाल एनएमबी बैंकमा कार्यरत छन् । ४२ बर्षीय स्मृति राना महालक्ष्मी विकास बैंकको मुख्य कार्यालयमा कार्यरत छिन् ।