Logo

बागमती पेज

पुस १२, २०७७ आईतबार

ओखलढुंगामा पार्टी कार्यालय कब्जा गर्ने यज्ञराज समुहको योजना असफल


काठमाडौं । ओखलढुंगामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालय कब्जा गर्ने सांसद यज्ञराज सुनुवार समुहको योजना असफल भएको छ ।

शनिवार प्रचण्ड–नेपाल निकट सांसद सुनुवार समूहले पार्टी कार्यालय कब्जा गर्ने उद्देश्यले नियमित लगाउने भन्दा फरक ताला लगाएसँगै आईतबार बिहान केपी ओली समुहले अर्को ताला लगाएपछि एउटा पक्षको कार्यालय कब्जा गर्ने प्रचण्ड–नेपाल समुहको योजना असफल भएको हो । कार्यालयमा अहिले २ वटा ताला लागेका छन् ।

फुटको संघारमा रहेको ९नेकपा०को विवाद जिल्लामा पनि उग्र बन्दै गएको छ । पार्टी कार्यालय कस्को हुने भन्ने विवाद देशभर चलिरहेका बेला जिल्ला पार्टी कार्यालयमा दुई पक्षले आ–आफ्ना ताला लगाएको नेकपाका नेता नेत्र भट्टराईले बताए । ‘हिजो प्रचण्ड–नेपाल समुहले ताला लगाएका थिए । आज केपी ओली समुहले पनि पार्टी अफिसमा ताला लगाएका छन् ।’ भट्राईले भने, ‘पार्टी कार्यालयमा तालामाथि ताला लागेपछि दुवै पक्षका नेता सडकमा छन् । सडकबाटै पार्टीका गतिविधि भईरहेका छन् ।’ नेता भट्राईका अनुसार विगतमा कार्यालयमा लगाउने ताला फेरेर प्रचण्ड–नेपाल समुहले नयाँ ताला लगाएका थिए ।

पार्टी कार्यालयमा दुवै पक्षका ताला लागेपछि नेकपाका नेता कार्यकर्ता होटल र व्यक्तिका घर तथा सार्वजनिक स्थलमा बसेर आ–आफ्ना कार्यक्रम बनाईरहेका छन् ।

आईतबार प्रचण्ड–नेपाल समुहको आकस्मिक बैठक बस्ने कार्यक्रम तय भएको थियो । पार्टी कार्यालयमा अर्को पक्षले ताला लगाएपछि उक्त वैठक प्रभावित भएको स्रोतले जनाएको छ । ‘नेता यज्ञराज सुनुवार सहित हामी उपलब्ध नेताहरु बसेर प्रधानमन्त्रीको कदम विरुद्ध कसरी आन्दोलन गर्ने भन्ने कार्यक्रम तय गर्ने बैठक थियो । पार्टी कार्यालयमा प्रवेश गर्ने अवस्था नभएपछि बैठक प्रभावित भयो । तर हाम्रा ऐजेण्डाहरु तय गरिसकेका छौं ।’ एक नेताले भने । सदरमुकाम स्थित एक व्यक्तिको घरमा भेला भएका प्रचण्ड–नेपाल समुहका नेताले प्रधानमन्त्रीको कदम असंबैधानिक भएको भन्दै सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

जिल्लामा पक्ष–विपक्ष भएर विवाद गर्ने योजना नरहेको भएपनि प्रचण्ड–नेपाल पक्षले पार्टी कार्यालय कब्जा गर्ने उद्देश्यले ताला लगाएपछि त्यसको प्रतिवाद गरिएको ओली पक्षका नेता अशोक थापाले बताए । उनले भने, ‘अर्को पक्षले पार्टी कार्यालय कब्जा गर्ने रणनिती बनाएर नयाँ ताला लगाएको रहेछ । हामीले पनि अर्को ताला लगाएका छौं ।’

जिल्ला सदरमुकाममा नेकपाको व्यवस्थित कार्यालय भवन छ । उक्त भवन साविकको नेकपा एमालेले बनाएको थियो । पार्टी एकता भएपछि सोही भवनलाई नेकपा पार्टी कार्यालय बनाईएको थियो । पूर्व एमाले भित्र पनि भवन निर्माणको नेतृत्व गर्ने नेताहरु अहिले दुबै पक्षमा विभाजित भएकाले उक्त भवनमा कस्को अधिकार हुने भन्ने झन ठुलो विवाद देखिएको छ । साभारः अनलाईन सरोकार