Logo

बागमती पेज

माघ २६, २०७७ सोमबार

अधिवक्ता कुमार प्रसाद घिमिरेको नेतृत्वमा ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्च


काठमाडौं । ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चको संयोजकमा अधिवक्ता कुमार प्रसाद घिमिरे चयन भएका छन् । अधिवक्ता घिमिरेलाई संयोजक र सचिवमा रामकुमार पौडेल सहित शनिबार काठमाडौंमा बसेको भेलाले २५१ सदस्यहरु सर्वसम्मत रुपमा गठन गरेको हो ।

२०५० शालमा तत्कालिन नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका अधिवक्ता घिमिरे अनेरास्ववियु ओखलढुंगा-काठमाडौं सम्पर्क कमिटीको सदस्य हुँदै अध्यक्ष बन्न सफल भए । उनी २०५२ सालमा गठन भएको ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चको सदस्य समेत रहेका थिए ।

अधिवक्ता घिमिरे ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चमा कोषाध्यक्ष हुँदै २०६२ सालमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै पार्टी एकता अघि सगरमाथा अंचल सम्पर्क कमिटीका सचिवालय सदस्य समेत रहेका थिए ।

घिमिरेले सम्पर्क मंचको नेतृत्व सम्हाले सँगै ओखलढुंगा जिल्लाको बामपन्थी राजनीतिमा प्रभावशाली भूमिका खेल्ने वकिल समुह विभाजित बनेको छ । सो समुहका नानीबाबु बुढाथोकी र तिर्थ सुवेदी नेकपा ओली पक्षमा सक्रिय देखिएका छन् । त्यसैगरी सम्पर्क मञ्चको स्थापना काल देखि निरन्तर सक्रिय रहेका सिताराम राउत, कुमार प्रसाद घिमिरे, शान्तिराम खतिवडा, शंकर सुवेदी, शुरेन्द्र कुमार बोगटी, दिलकुमार कार्की, चोक बहादुर मगर, रितबहादुर जमरकटेल र पेशल कुमार लुईटेल जस्ता अधिवक्ताहरु अहिले पनि प्रचण्ड-नेपाल पक्षमा क्रियाशिल रहेका छन् ।

पार्टी एकता पश्चात प्रदेश-१ सम्पर्क समन्वय कमिटी सदस्य रहेका घिमिरे करिव २ दशक देखि कानुन व्यवसायीका रुपमा सक्रिय रहेका छन् । विषम परिस्थितिमा अनुभवी र सक्रिय नेतृत्वको भेलाले माग गरेको बताउँदै संयोजक घिमिरेले आफुले संयोजकको जिम्मेवारी लिएको बताए ।