Logo

बागमती पेज

फाल्गुन ११, २०७७ मंगलबार

मेलम्ची सुरुङमा दोस्रो पटक छाडियो पानी, १६ दिनमा सुन्दरीजल पुग्‍ने


काठमाडौं । पहिलोपटक सुरुङमा पानी हालेको १० दिनमा नै पहिलो परीक्षण असफल भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मर्मतपछि दोस्रो परीक्षण सुरु गरिएको छ ।

सोमबार खानेपानी मन्त्री मणिचन्द्र थापाले आयोजनाको मुहान सिन्धुपाल्चोकको अम्बाथानमा रहेको स्विच थिचेर मर्मत सम्पन्न भएको सुरुङको परीक्षण शुभारम्भ गरेका हुन् ।

यो सुरुङको सफलताले मुलुक नै सुरुङ युगमा प्रवेश गरेको मन्त्री थापाले बताए । मेलम्चीको यो सफलता एउटा आयोजनाको मात्रै सफलता नभई सिंगो मुलुकका लागि विकासमा नयाँ प्रबिधिको सफलताको पहिलो उदाहरण भएको मन्त्री थापाको भनाइ छ ।

अहिलेको परीक्षणको क्रममा कुनै समस्या नदेखिएमा मेलम्चीको पानी आगामी १६ दिनभित्र काठमाडौंको सुन्दरीजल पुग्नेछ । पानी सुन्दरीजलमा पुगेपछि केही दिन सुरुङभित्रै पानी जमाएर कुनै त्रुटि नभएको निश्चित गरिनेछ ।

मेलम्चीलाई सहज रुपमा अघि बढाउन स्थानीयका सबै जायज मागहरुलाइ पूरा गर्ने विषयमा पनि छलफल भइरहेको सोही कार्यक्रममा पुगेका युवा तथा खेलकुद मन्त्री दावा तामाङले बताए । उनले सिएमसीपिडित भेन्डरहरु र स्थानीयको समस्या समाधान गर्न सरकारको तर्फबाट आफूले पहल गर्नेसमेत बताए ।

अस्थायी रुपमा काठमाडौं पानी पुग्न २ महिना लाग्ने र हाल २ सय ६० लिटर प्रति सेकेन्डका दरले पानी सुरुङमा हालिएको आयोजनाका प्राबिधिकहरुले जानकारी दिएका छन् ।