Logo

बागमती पेज

चैत्र २, २०७७ सोमबार

प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता हुँदै


काठमाडौं । आपसी तिक्तता बढिरहेका बेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुन लागेको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार भेटमा महासचिव ईश्वर पोखरेलको पनि सहभागिता रहनेछ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेयता ओली र नेता नेपालबीच भेटवार्ता भएको छैन । संसद विघटनविरुद्ध नेपाल पक्ष सडक संघर्षमै उत्रेको थियो । सर्वोच्च अदालतले संसद विघटन खारेज र नेकपा विवादमा ओली र प्रचण्ड नेतृत्वको नेकपालाई समेत मान्यता नदिएपछि एमाले र माओवादी पूर्ववत् अवस्थामै फर्किएका छन् ।

सर्वोच्चको फैसलाले एमाले व्युँतिएपनि ओलीले पार्टीका बहुमत सदस्यविनै बालुवाटारमा बैठक राखेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर अन्यलाई दिएका छन् । त्यसको विरोधमा नेपाल पक्षले समानान्तर प्रदेश तथा विभागीय कमिटी गठन गरेका छन् । नेता नेपाल पक्षले ओलीले विधानविपरित गरेका यस्ता कार्य खारेज गर्नुपर्ने भन्दै ओलीले बोलाएको चैत ७ गतेको केन्द्रीय समिति बैठकमा नजाने बताउँदै आएका छन् ।

ओलीले पार्टीमा गरेको नियुक्ति र जिम्मेवारी हेरफेर विरुद्ध आइतबार मात्रै माधव नेपाल सहित वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनीहरुले ओलीको निर्णय कार्यन्वयन नगर्न आयोगलाई आग्रह गरेका छन् ।

साथै आइतबार साँझ नै नेपाल सहितका ११ जना नेताहरुले ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा लगेको तथा एमाले फुटको संघारमा पुर्याएको संगीन आरोप लगाएका छन् ।