Logo

बागमती पेज

चैत्र १३, २०७७ शुक्रबार

प्रदेश १ लाई पूर्वाधार विकासमा पहिलो प्रदेश बनाउँछु: मन्त्री गुरुङ


विराटनगर । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले आफ्नो प्रदेशलाई पूर्वाधार विकासमा मुलुकमै पहिलो प्रदेश बनाउने बताएका छन् ।

राज्यमन्त्रीबाट मन्त्रीमा पदोन्नति भएर सपथग्रहण पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले पूर्वाधारका क्षेत्रमा अब्बल काम गर्ने बताएका हुन् । ‘१ नम्बर प्रदेशलाई १ नम्बर बनाउने हाम्रो लक्ष्य छ । त्यो लक्ष्य पुरा गर्नेछु ।’ मन्त्री गुरुङले भने, ‘कोभिडका कारण विकासमा केही चुनौति थपियो तर हामीले प्रदेश सरकारको नीति कार्यक्रम र बजेट अनुसारका काम निरन्तर अघि बढाईरहेका छौं । विगतमा सुरु भएका योजनाले पूर्णता पाउनेछन् नयाँ योजना सुरु हुनेछन् । मुलुकमै नमुना योग्य विकासको मोडेल अपनाउने छौं ।’ प्रदेशका सबै १४ वटै जिल्लामा समृद्धिका अभियानहरु सञ्चालन गर्ने उद्घोष गरेका छन् ।

मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री गुरुङले आर्थिक पारदर्शीता र विकासका काममा तिव्रता दिन निर्देशन दिए । विकासका योजनामा बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । स्थानीय तह, संघ सरकार र प्रदेश सरकारको समन्वयमा विकासका महत्वपूर्ण योजनाहरु अघि बढाउने बताए । मन्त्री गुरुङ यसअघि राज्यमन्त्री र सांसद मात्रै हुँदा पनि विकास निर्माणमा अब्बल काम गर्ने नेताको रुपमा पहिचान बनाईसकेका नेता हुन् ।

१४ महिना अघि भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको रुपमा मन्त्रालयमा जिम्मेवारी सम्हालेका गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रीमा गुरुङ सहित भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ, सामाजिक विकास मन्त्री उषाकला राई, भूमी, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घले र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझालाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्रालय हिक्मतकुमार कार्की, उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय जगदिश कुशियतले सम्हालेका छन् ।