Logo

मेघनाथ पहाडी

चैत्र २१, २०७७ शनिबार

बागमती प्रदेशले ३० वटा विद्युतीय बस खरिद गर्दै


काठमाडौँ । बागमती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ ।

बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको हो । वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया चालू आर्थिक वर्षमा सुरु गरी आगामी वर्षको पुस–माघमा बस आइसक्ने छ ।

प्रदेश सरकारको अघिल्ला आर्थिक वर्षमा नै विद्युतीय बस सञ्चालन गर्ने नीति र कार्यक्रममा घोषणा गरिए पनि बोर्ड गठन र खरिद प्रक्रियामा भएको ढिलाइले बस खरिद र सञ्चालनमा ढिलाइ भएको थियो ।

बोर्डको निर्देशक जगदीशचन्द ढुङ्गानाले ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदका लागि ४५ दिनको म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरिएको बताए ।

उनका अनुसार ८.५ मिटर देखि ९.४ मिटर लम्बाइको कोच सिटी मिनी बस १० वटा र १०.५ मिटर लम्बाइको सिटी मिनी बस २० वटा खरिद योजना रहेको जानकारी दिँदै चार्जर खरिदसँगै चार्जिङ सेन्टरको पूर्वाधार निर्माणलाई अगाडि बढाइने बताए ।

हेटौँडामा दुईदेखि पाँच, भरतपुरमा दुई र सातदेखि १० वटा काठमाडौँमा चार्जिङ सेन्टर राख्ने योजना रहेको छ । चार्जिङ स्टेसनका लागि हेटौँडा र भरतपुरमा जग्गा उपलब्ध भइसकेको र काठमाडौँमा जग्गा खोजी भइरहेको छ ।

यस्तै विद्युतीय कारहरूलाई समेत सुविधा दिने गरी धादिङको कुरिनटारदेखि गल्छीबीचमा चार्जिङ स्टेसन निर्माण गरिने भएको छ ।