Logo

बागमती पेज

चैत्र २४, २०७७ मंगलबार

पशु बीमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा पशु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पशु सेवा शाखाले नगरपालिकामा रहेका पशुपंक्षी व्यवसायमा संलग्न संस्थाहरुलाई बीमा सम्बन्धी जानकारी तथा प्रोत्साहन स्वरुप कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा पशुपंक्षी बीमाबाट पशुपालन क्षेत्रलाई विस्तार एवम् प्रवर्धन गर्ने, पशुपंक्षी व्यवसायीहरुको हुन सक्ने सम्भावित जोखिमको न्यूनिकरण गरी व्यवसायिक पशुपालन तर्फ आकर्षित गर्न सहयोग गर्ने, पशुपालन क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, पशुपालन क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, पशु उत्पादनलाई वृद्दि गरी आयातलाई प्रतिस्थापन गर्ने बीमाका प्रमुख उदेश्यहरु बारे छलफल भएको पशु चिकित्सक काजी बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रममा उपस्थित बीमा समितिका निर्देशक सुशील देव सुवेदीबाट “जोखीम, बीमा तथा बीमाको सैद्धान्तिक पक्ष” बिषयमा जानकारी मुलक प्रस्तुतिकरण दिएका थिए । उनले व्यवसाय र पशुपंक्षीमा हुने जोखीम, खतरा तथा जोखीम व्यवस्थापन गर्ने विधि तथा क्षतिपूर्तिको अवस्था लगायत बीमा दावि गर्ने प्रकृयाहरु बारे जानकारी मुलक प्रस्तुतिकरण दिएका थिए ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीले आफ्नो व्यवसाय सुरक्षि होस् या भविश्यमा आउनसक्ने जोखिम न्युनिकरण गर्न पशु बीमा गर्न आवश्यक रहेको बताए । उनले पशु व्यवसायीहरुलाई व्यवसाय गर्दा ध्यानपूर्वक आफ्नो अनुभव अनुसारको व्यवसाय गर्न अनुरोध समेत गरे । उनले भने तालिममा सिकेको ज्ञान र अनुभव लिने मात्र नभएर व्यवहारमा लागु गर्दा व्यवसायले थप सफलता पाउने विश्वास व्यक्त गरे ।

पशुपंक्षी बिज्ञ डा. रेवतीमान श्रेष्ठले पशुहरुमा लाग्ने किटजन्य रोग, आँधीहुरी, बाढि, पहिरो, महामारी जस्ता विपद्ले व्यवसायमा क्षतिहुने जोखिमका सम्भावनाहरु छलफल गर्दै व्यवसायीहरुलाई बीमाबाट हुने फाईदाबारे जानकारी दिए ।

पशुसेवा प्रमुख काजि श्रेष्ठका अनुसार नेपाल सरकारबाट पारित भएको बीमा सुल्कमा ७५% अनुदान दिने नीतिबाट नगरपालिका कृषि तथा पशुपंक्षी व्यवसायहरुलाई लाभान्वित गराउने उद्देश्य रहेकोले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा काठमाडौंको बूढानीलकण्ठ, टोखा, कागेश्वरी मनोहरा, तारकेश्वर लगायतका विभिन्न नगरका पशुपंक्षी फार्मबाट कृषकहरुको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा नगरपालिका आर्थिक विकास समिति संयोजक दुर्गा माया थापा, बीमा समिति निर्देशक सुसिल देव सुबेदी, पुर्व सह सचिव तथा पशुपंक्षी क्षेत्र बिज्ञ डा. रेवतीमान श्रेष्ठ, पुर्व सह सचिव तथा जनस्वास्थ्य बिज्ञ डा. बोधनाथ अधिकारी, नगरपालिका पशु सेवा शाखा प्रमुख काजी श्रेष्ठ, लगायत पशुपंक्षी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।