Logo

बागमती पेज

चैत्र २६, २०७७ बिहीबार

बूढानीलकण्ठका कृषकहरुलाई व्यवसायिक तरकारी खेती तालिम


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाले दुई दिने कृषक तालिम शुरु गरेको छ । नगरपालिका भित्रका व्यवसायिक कृषि क्षेत्रमा संलग्न कृषकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकामा बुधबारदेखि दुइ दिने व्यवसायिक तरकारी खेती तालिम सुरु गरेको हो ।

नगरपालिकामा कृषि पेशालाई व्यवसायिक बनाएका किसानहरुलाई आत्मनिर्भर गराउन संचालन गरिएको तालिममा विभिन्न वडाबाट ८ जना महिला १५ जना पुरुष गरि २३ जना सहभागी भएका थिए ।

तालिममा कृषकहरुलाई विउवेर्ना उत्पादन प्रविधि, प्लाष्टीक घरमा तरकारी खेती संचालन गर्ने तरिका, मैसमी तथा बेमैसमी खेती पद्धति, रोग किरा पहिचान तथा व्यवस्थापन लगायत किसानलाई चाहिने सिप ज्ञानको जानकारी दिने कृषि शाखा प्रमुख लक्ष्मि घर्तिले बताएकी छन् ।

उनले सो तालिम विशेषगरी बिदेशबाट फर्किएका कृषि गर्न चाहने युवा कृषक एवम्  कृषि उद्यममा संलग्न महिला कृषकहरुका लागि लक्षित गरी सञ्चालन गरिएकोे जानकारी दिएकी छन् ।

उक्त तालिम उद्घाटनको अवसरमा नगरपालिका उपप्रमुख रमा राईले तालिममा सिकेका कुराहरुलाई व्यवहारिक प्रयोगमा उतार्न सक्नु पर्नेमा जोड दिईन् । नगरपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिएको जनाउँदै उपप्रमुख राईले विगतदेखि नै कृषिको यान्त्रिकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गरिएको र यस आ.व.मा पनि सो कार्यलाई निरन्तरता दिइने बताएकी छन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले कृषकहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले नगरपालिकाले उत्पादनमा आधारित अनुदानको शुरुवात गरेकोले सो बाट लाभ लिन आग्रह गर्दै कृषकहरुले उत्पादन गर्ने अन्य कृषि उपजहरुमा समेत अनुदान विस्तार गर्दै लगिने बताए ।

तालिमको राष्ट्रिय आलु, तरकारी तथा मसालाबालि विकास केन्द्र, किर्तिपुरबाट बागवानि विकास अधिकृत सन्दिप सुवेदी र तरकारी बालि विकास केन्द्र, खुमल्टारबाट बालि संरक्षण अधिकृत सुरेन्द्र सुवेदी लगायतले सहजिकरण गरेका थिए ।