Logo

बागमती पेज

बैशाख १०, २०७८ शुक्रबार

अखिल क्रान्तिकारीबाट १४ जना निस्कासित, प्रवक्ताको जिम्मा मैनालीलाई


काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेकपा एमालेमा लागेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेको छ ।

निस्कासित हुनेहरुमा सचिवद्वय डिबी साउद (अछाम) र गंगा दाहाल (सिन्धुली)लगायत छन् । उनीहरु नेकपाको एकताको भंग भएपछि एमाले निकट अनेरास्ववियुमा लागेका थिए । साउदलाई अनेरास्ववियुमा पनि सचिवकै जिम्मेवारी दिइएको छ ।

हालै बसेको केन्द्रीय समितिको विस्तारित बैठकले संगठनमा निष्कृय रहेका ३३ जनालाई विदाई र संगठन छाडेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको प्रवक्ता जीपी मैनालीले जानकारी दिए । ‘कारबाही गरिएकाहरू अधिकांश एमालेको विद्यार्थी संगठनमा लागेकाहरू छन्,’ उनले भने ।

जीपी मैनाली
अखिल क्रान्तिकारीको उपमहासचिवसमेत रहेका मैनालीले बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका छन् । २०६५ को स्ववियू चुनावमा काठमाडौं इन्जिनियरिङ कलेजबाट सभापतिमा निर्वाचित मैनाली संगठनको २०७४ भदौमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट उपमहासचिव बनेका थिए ।

केन्द्रीय समितिको विस्तारित बैठकले अखिल क्रान्तिकारीको केन्द्रीय समितिको संख्या २२८ कायम गर्दै जिल्लाहरुको संयोजक र इञ्चार्जहरु पनि तोकेको उनले जानकारी दिए ।

बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियान सन्चालनका लागि संयोजकसमेत तोकेको छ ।

प्रदेश नं. १.मा तिलकराज भण्डारी, राजकुमार याक्सो र मदन भट्टराई, प्रदेश नं. २. मा दीपक देवकोटा, गजेन्द्र देव र सूर्यनारायण शाह, बागमती प्रदेशमा उत्तम अधिकारी, जीपी मैनाली र पवन कार्कीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी गण्डकी प्रदेशमा सुरेन्द्र बस्नेत, आशा तमु र क्षितिज सापकोटा, लुम्विनी प्रदेशमा इन्द्र भुसाल, मिलन एम.सी. र नारायण खनाल, कर्णाली प्रदेशमा दिपेश पुन र अमरजङ शाही तथा सुदूरपश्चिम प्रदेशमा विजय गौतम, लक्ष्मी जोशी र मदन भुललाई जिम्मेवारी तोकिएको छ ।

यस्तै विश्वविद्यालय विशेष प्रदेशमा पञ्चा सिंह, तुकमान महरा र अच्युत भट्टलाई अभियान सञ्चालन गर्ने जिम्मेवारी दिइएको अखिल क्रान्तिकारीले जनाएको छ ।

अभियान अन्तर्गत २० वैशाखसम्म प्रदेशस्तरीय प्रशिक्षण, भेला तथा बैठक गर्ने कार्ययोजना बनाइएको छ ।

वैशाख मसान्तसम्म जिल्लाका प्रशिक्षण तथा बैठक र इकाइ गठन, पुनर्गठन तथा भेला सम्मेलन सम्पन्न गर्ने, १ जेठमा विद्यार्थी दिवसको अवसर पारेर सात वटै प्रदेशमा जनपरिचालनसहित विद्यार्थी प्रदर्शन सभा गर्ने निर्णय पनि अखिल क्रान्तिकारीले गरेको छ ।

यस्तै १५ जेठसम्म स्थानीय निकाय कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने र क्याम्पस कमिटीहरुको भेला सम्मेलन सम्पन्न गर्ने कार्ययोजना छ ।