Logo

बागमती पेज

बैशाख १०, २०७८ शुक्रबार

राजनीतिक समस्याले विकास बिथोलिँदैन : मन्त्री गुरुङ


काठमाडौं । प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले राजनीतिमा आएको समस्याले विकास प्रभावित नहुने बताएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङस्थित भगवती माध्यमिक विद्यालयको हीरकजयन्ती महोत्सव उद्घाटन गर्दै मन्त्री गुरुङले सरकारलाई चौतर्फी घेराबन्दी भए पनि विकासका काममा कुनै अवरोध नभएको बताएका हुन् ।

मन्त्री गुरुङले अघिल्लो निर्वाचनमा वाम गठनबन्धका तर्फबाट जनताका बीचमा गरिएका वाचा वर्तमान सरकारले पूरा गरिरहेको बताए । माओवादी र एमालेले संयुक्त रूपमा घोषणापत्र जारी गरेर वाम गठबन्धनका तर्फबाट जनताका बीचमा गरेका वाचा एमाले नेतृत्वको वर्तमान सरकारले पूरा गरिरहेको बताएका हुन् ।

पार्टी एकता लामो समय नटिकेका कारण माओवादीले सरकारलाई पर्याप्त सहयोग नगरे पनि एमालेले सबै चुनावी वाचा पूरा गर्ने अठोट लिएको मन्त्री गुरुङको भनाइ थियो । केन्द्रमा धरहरा निर्माण, मेलम्चीको पानी राजधानीमा वितरण गर्नेदेखि राष्ट्रिय गौरवका दर्जनौँ आयोजना सम्पन्न गरिसकेको बताउँदै मन्त्री गुरुङले १ नम्बर प्रदेशमा पनि पूर्वाधार विकासमा उल्लेख्य काम भएको जानकारी दिए ।

चुनावी वाचाअनुसार वृद्धभत्ता पाँच हजार दिने, युवालाई स्वरोजगार बनाउने, अशक्त, अपांगलाई सहारा दिने दीर्घरोगीलाई उपचारमा सहुलियत दिनेसहितका लोकप्रिय कार्यक्रमको बजेट ल्याउने सरकारको तयारी रहेको बताए ।