Logo

बागमती पेज

बैशाख २६, २०७८ आईतबार

काठमाडौँ महानगरद्वारा शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर सहयोग


काठमाडौँ । काठमाडौँ महानगरले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टिलेटर प्रदान गरेको छ । कोभिड-१९ संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो ।

शनिबार अस्पताल पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्य तथा उप-प्रमुख हरीप्रभा खड्गीले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायत अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । मुल्य अभिवृद्धि कर र भन्सारसहित भेन्टिलेटरको मुल्य २ करोड ९ लाख रुपैयाँ रहेको जनाईएको छ ।

भेन्टिलेटर हस्तान्तरण गरिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले महानगरले संक्रमण रोकथाम र नियन्त्रणमा गरेका प्रयासको चर्चा गर्दै, समुदाय स्तरमा संक्रमण घटाउने र उपचारका लागि अस्पताल जानेका लागि सुविधा बढाउने कामलाई सँगै अघि बढाउँदै लगेको बताए ।

‘हाम्रा योजनाहरु अस्पतालमा भेन्टिलेटर र आइसियु बढाउनुभन्दा व्यक्ति—व्यक्तिलाई संक्रमण हुनबाटै बचाउनेतिर केन्द्रीत गरिनुपर्छ । यतिले मात्र प्रयास नपुग्न सक्छ ।’ उनले थपे , ‘हामी सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग उपलब्ध गराउँछौँ । त्रि. वि. शिक्षण अस्पतालसँगै अन्य अस्पतालबाट पनि प्रस्ताव आएका छन् । हाम्रो सहयोग अस्पतालको क्षमता बढाउनका लागि हुनेछ ।’ प्रमुख शाक्यले चिकित्सकहरुको कामको प्रशंशा गर्दै भने, ‘तपाईँहरुको उत्साहले व्यक्तिलाई बाँच्ने आशा आउँछ । त्यसैले सहास बढाउनुहोस् । आवश्यक पर्ने स्वास्थ्य सामग्री हामी सहयोग गछौँ ।’

त्यस क्रममा उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले, महानगरले अहिले पूर्वाधार निर्माणका काममा भन्दा महामारी नियन्त्रणमा केन्द्रीत गरेको बताईन् । ‘पहिले जीवनको सुरक्षा, त्यसपछि विकासका योजना ।’ खड्गी श्रेष्ठको भनाइ थियो ।

अस्पतालमा आएका विरामीलाई फिर्ता पठाउनु नपरोस् भन्ने चाहना राखेर हामीले क्षमता र जनशक्ति व्यवस्थापनमा लागेका छौँ । त्यस क्रममा डीन प्रा. डा. सिंह शाहले महानगरको सहयोगबाट उत्साहित भएको बताए । त्यस्तै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. काफ्लले महानगरका प्रमुख र उपप्रमुख अस्पतालमै आएर सहयोग गरेपछि आफूहरु महामारी विरुद्ध लड्न थप उत्साहित भएको बताए ।

अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको छ । जसमध्ये २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । यसको माग अझै बढ्दै गएको छ । महानगरको सहयोग यहाँ पनि आवश्यक छ । कार्यकारी निर्देशक काफ्लेको भनाइ थियो ।

जीवन रहेपछिका लागि अरु भौतिक सुविधा उपयोग हुन्छन् । त्यसैले महानगरले महामारीविरुद्धको लडाइँलाई प्राथमिकता साथ कार्यान्वयन गरिरहेको वडा ३ का अध्यक्ष के. सी. को भनाइ छ ।

अस्पतालका सूचना अधिकृत रामविक्रम अधिकारीका अनुसार अस्पतालमा कोविड संक्रमण भएका विरामीको संख्या बढ्दै गएको छ । यसपछि सघन उपचार कक्षमा कोभिडका विरामीको संख्या धेरै हुने सम्भावना रहेको छ ।