Logo

मेघनाथ पहाडी

बैशाख २८, २०७८ मंगलबार

कोरोना बिरुद्धको अभियानमा कमलामाईको सक्रियता तीब्र


सिन्धुली । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालमा पनि ठुलो समस्या देखा पर्न थालेको छ । यसको सतर्कताका लागि सरकारले विभिन्न जिल्लामा निशेधाज्ञा गरेको छ भने नागरिकलाई आँफै सचेत रहन आग्रह समेत गरेको छ । मुलुकमा रहेका तीन तहका सरकार मध्ये स्थानीय तहहरु यतिबेला कोरोना भाईस विरुद्धको अभियानमा तीब्र रुपमा जुटेको देखिन्छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिन्धुलीको कमलामाई नगरपालिकाले पनि निशेधाज्ञा तथा उच्च सतर्कता अपनाएको छ ।

कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्री आफ्नो नगर भित्र रहेका कोरोना संक्रमितको घर-घर पुगेर सहानुभुति तथा सकारात्मक संदेश दिएका छन् । यतिमात्र नभएर हाल नगरले काठमाडौं लगायतका बाहिरी जिल्ला तथा अन्य स्थानबाट नगर भित्र आएका नागरिकको लिस्ट बनाउँदै उनीहरुलाई १४ दिन सम्म सतर्कता अपनाई होम आइसुलेसनमा बस्नु पर्ने नियम कडाईका साथ लागु गरेको छ ।

नगर प्रमुख खत्री भन्छन्, नगर भित्रका विकास निर्माणका कामहरु पुर्ण रुपमा संचालित रहेका छन् । कोरोनाका कारण विकास निर्माणका काममा खासै प्रभाव परेको देखिदैन । हाम्रो नगर भित्र संचालनमा रहेका कुनैपनि विकास निर्माणका कामहरु रोकिएको छैनन् । विकास निर्माणका लागि आवश्यकिय समानहरु उपलब्ध छन्, त्यसमा खासै समस्या देखा परेको पनि छैन ।

उनले जोडे जसलाई छाक टार्न समस्या पर्छ उनीहरुले अब भोकै बस्नु पर्दैन । विगतको जसरी हामीले राहत वितरणका कार्यक्रम भन्दा पनि मजदुर गर्न नपाएर विहान बेलुका छाक टार्न समस्यामा परेका नागरिका लागि नगरपालिकाले कामको व्यवस्था गर्ने छ । त्यसका लागि समस्यामा परेका नागरिकलाई नगरपालिकामा खबर गर्न समेत नगरप्रमुख खत्रीले अनुरोध गरेका छन् ।

नगर प्रवक्ता कर्ण बहादुर घिसिङका अनुसार हाल नगरमा कोरोनाका विमारीको संख्या बढ्दो रहेका कारण नगरवासीहरुमा कोरोनाका कुनैपनि लक्षण देखिएको खण्डमा नगरले निःशुल्क रुपमा पिसिआर परिक्षण गराउने व्यवस्था गरेको छ । पिसिआर गर्दा कोरोनाको रिपोर्ट पोजेटिभ देखिएमा नगरभित्र रहेको आईसुलेसन वार्डमा लगेर राख्ने समेतको व्यवस्था गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख केन थापाका अनुसार कोभिड-१९ लाई मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि नगर प्रमुख सहित नगर भित्र रहेका १४ वटा स्वास्थ्य संस्था तथा अन्य स्वास्थ्यसँग सम्बन्धित निकायहरुको भर्चुअल मिटिङ गरिएको थियो । जसमा वडाहरुमा कोरोना संक्रमितहरुको अवस्थाबारे जानकारी गराइनुका साथै आवश्यकिय स्वास्थ्य सामग्री व्यवस्थापन के-कसरी गर्ने र नगरवासीलाई कसरी सुरक्षित राख्ने लागायतका विषयमा छलफल गरिएको थियो ।

कमलामाई नगरपालिका भित्र रहेका ७ वटा स्वास्थ्य चौकी र ७ वटा शहरी स्वास्थ्य केन्द्रमा अक्सिजनको व्यवस्था गर्न आवश्यक रहेको समेत जानकारी गराईएको छ । आगामी दिनमा नगरभित्रका स्वास्थ्य केन्द्रमा अक्सिजनको व्यवस्था गर्न नगरपालिकाले केही मात्रामा भएपनि अक्सिजनको व्यवस्था गर्न सक्दो पहल गर्ने भएको छ ।