Logo

बागमती पेज

जेष्ठ ३, २०७८ सोमबार

मदन र आश्रितको बाटोमा अविराम लागिरहने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता


हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको २८ औं स्मृति दिवसको सन्दर्भमा देश र जनताको हितको लागि उनीहरुले पुर्याएको अमुल्य योगदानको स्मरण गर्दै श्रदाञ्जली ब्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले श्रदाञ्जली ब्यक्त गर्दै द्वय नेता मदन र आश्रितको बाटोमा अविराम लागिरहने प्रतिबद्धता जनाएका हुन् ।

वि. सं २०५० साल जेठ ३ गते पोखराबाट फर्कनेक्रममा चितवनको दासढुङगामा रहस्यमय जीप दुर्घटनाबाट उहाँहरुको मृत्यु भएको थियो । विश्व कम्युनिष्ट आन्दोलनले एकपछि अर्को धक्का बेहोर्नुपरेको तत्कालिन समयमा जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवादको आलोकमा नेपाली कम्युनिष्ट आन्दोलन जनताको मन र विश्वास जितेर उचाईको पुग्दै थियो ।

कम्युनिष्ट आन्दोलनलाई शास्त्रको जडताबाट मुक्त गरी जीवन र ब्यवहार संगै जोड्दै जबज मार्फत नेपाली क्रान्तिको मौलिक मोडल प्रस्तुत गर्नुभएका जननेता भण्डारीलाई अमेरिकाबाट प्रकाशित “न्युज विक” पत्रिकाले नेपालको कार्ल माक्र्सकोरुपमा चित्रित गरेको थियो । नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिककरण गर्ने मात्र होईन, जनताका जीवन्त सवालहरुमा उहाँले प्रस्तुत गर्नु भएको दृष्टिकोणहरु आज पनि उत्तिकै सान्दर्भिक छ मुख्यमन्त्री पौडेलले भने । कम्युनिष्ट आन्दोलनभित्र भिन्नै खाले प्रयोगहरुमा विश्वास गर्ने राजनीतिक पार्टिहरुले समेत जनताको बहुदलिय जनवादको अन्तर्यलाई आत्मसात गर्दै अघि बढेको देखिन्छ । उनले भने, यसले जबजको सच्चाई र सान्दर्भिकतालाई पुष्टि गर्छ ।

जनताको प्रिय नेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको रहस्यमय जीप दुर्घटनाबाट नेपाली कम्युनिष्ट आन्दोलनले अपुरणीय क्षति ब्यवहोर्नुपरेको थियो । मुख्यमन्त्री पौडेलले भने, आज जननेता भण्डारी त हामी माझ हुनुहुन्न तर उहाँबाट प्रतिपादित जबजले हामी सबैलाई मार्गदर्शन गरिरहेको छ । कुशल संगठक आश्रित त हामीसंग हुनुहुन्न तर जनतामा आधारित बलियो संगठानिक आधार, जनताको भरोसा र प्रतिबद्ध कार्यकर्ताहरु भएको पार्टि नेकपा एमाले जीवन्त छ ।

यसर्थ जबजको आलोकमा समृद्धि नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्न पार्टिको सम्पुणर् शक्ति केन्द्रीकृत गर्न सक्दा आउने सकारात्मक परिणामले नेपाली कम्युनिष्ट आन्दोलनलाई थप बलियो र भरोसायोग्य बनाउनेमा मुख्यमन्त्री पौडेलको विश्वास छ । गुटफुट होईन, एकताबद्ध, बलियो र भरोसा योग्य कम्युनिष्ट आन्दोलनबाट मात्र जननेता भण्डारी र कुशल संगठन आश्रितले देख्नुभएको सपना पुरा गर्न गर्न आवश्यक रहेको समेत उनले बताए ।