Logo

मेघनाथ पहाडी

जेष्ठ १७, २०७८ सोमबार

चन्द्रागिरीमा अक्सिजन जेनेरेटर प्लान्ट निर्माणको लागि सम्झौता


काठमाडौं । चन्द्रागिरी नगरपालिका-८ मा पि .एस.ए अक्सिजन जेनेरेटर प्लान्ट (10NM3/hr) निर्माणको लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

चन्द्रागिरी-८ स्थित मातातीर्थ सामुदायिक असपतालमा संचालित नगरस्तरीय कोभिड आइसोलेसन सेन्टरको लागि चन्द्रागिरी नगरपालिका वडा नं ८ (प्रथम पक्ष) र भक्तपुर जिल्ला लोकन्थलीस्थित श्री मुनरोक इन्टरनेशनल प्रा. लि. (दोस्रो पक्ष)  बीच पि .एस.ए अक्सिजन जेनेरेटर प्लान्ट (10NM3/hr) निर्माण गर्न सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा चन्द्रागिरी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेका छन् भने श्री मुनरोक इन्टरनेशनल प्रा लि प्रबन्ध निर्देशक प्रशान्त झाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार श्री मुनरोक इन्टरनेशनल प्रा. लि. ले सम्झौता भएको मितिले २० दिन भित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्नु पर्नेछ । निर्माण सामग्री निर्माण स्थलमा झारीसके पश्चात प्रथम पक्षले लागत मध्ये रु बीस लाख मात्र भुक्तानी गर्ने छ र निर्माण कार्यको ७५ प्रतिशत कार्य सम्पन्न भए पश्चात प्रथम पक्षले दोस्रो पक्षलाइ रु तीस लाख मात्र भुक्तानी गर्नु पर्नेछ ।

साथै निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण भएको १५ दिन भित्र बाँकी रकम चौबिस लाख दुइ हजार पांच सय साठी रुपैया भुक्तानी गर्नु पर्ने उल्लेख गरीएको छ ।