Logo

मेघनाथ पहाडी

जेष्ठ १९, २०७८ बुधबार

कोरोना महामारीमा बूढानीलकण्ठको तयारी तीब्र, यस्तो बन्दैछ योजना…


काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणको भयावह अवस्था रहेको छ । जसका कारण मृत्यु हुनेको संख्या पनि डरलाग्दो देखिन्छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले निशेधाज्ञा तथा उच्च सतर्कता अपनाउँदै आएका छन् ।

जसमा बूढानीलकण्ठ नगरपालिका पनि व्यवस्थित रुपमा तयारीका साथ जुटेको देखिन्छ । बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेलले एक वर्ष अघि देखिको कोभिड रोकथाम तथा नियन्त्रणका लागि धेरै अनुभव र जानेका ज्ञानहरुलाई दोश्रो लहरको कोरोना संक्रमण रोकथाम र उपचार गर्न जीउधनको सुरक्षाका लागि नगरले धेरै कामहरु गर्दै आएको बताएका छन् ।

हाल नगरभित्र बूढानीलकण्ठ-२ मा अक्सिजन सहित २५ वेडको र बूढानीलकण्ठ-१० मा १५ वेडको सेवा सुविधा सम्पन्न २ वटा आईसोलेशन संचालनमा रहेको नगरप्रमुख खरेलले बागमती पेजलाई जानकारी गराएका छन् । बूढानीलकण्ठ नगर अस्पताल नजिक ओपिडि सेवा र स्वास्थ्य परामर्श लिने ठाउँ बनाएको समेत बताउछन् ।

नगरभित्रका जनतालाई सचेतना गर्ने डिस इन्फेक्सन, होम आइसोलेशनमा बसेकाहरुलाई स्वास्थ्य परामर्श दिने तथा काउन्सिलिङ गर्ने लगायतका कामहरु गर्दै आएको नगर प्रमुख खरेलले जनाएका छन् ।

नगर भित्रका विमारीहरुलाई समस्या परेमा निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था समेत गरिएको छ । विभिन्न संघ संस्थाहरु तथा बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले समेत आफ्नो सवारी साधन नगरले एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिनु भएको छ खरेलले भने ।

नगर प्रमुख खरेलका अनुसार बूढानीलकण्ठ नगरपालिका भित्र हाल सम्म खानै नपाएर नागरिकहरु समस्यामा परेका छैनन् । त्यस किसिमको खानै नपाएर भोकै बस्नुपर्ने बाध्यता छ भने बास्तविक समस्या बुझेर वडाको समन्वयमा नगरले खानाको व्यवस्था गर्छ । हाल सम्म खान नपाएरै अत्तिनु पर्ने अवस्था हाम्रो नगरमा आएको छैन ।

नगर प्रमुख खरेलले भने, ‘स्थानीय सरकार आम नगरवासीको हो, समस्या परे हामी समाधान गर्न तयार छौं ।’

विकास निर्माणका काममा तीब्रताका साथ लागि परेको बूढानीलकण्ठमा हाल कोरोनका कारण निकै काममा बाधा पुगेको छ । नगर प्रमुख खरेलले भने, विकास निर्माणका काम हाल २० प्रतिशत मात्र संचालनमा होलान् ८० प्रतिशत जति ठप्पै छन् । हाल विकास निर्माण भन्दा नागरिकको स्वास्थ्य कसरी बचाउने नगरको ध्यान त्यतातिर लक्षित रहेको छ ।

नगर प्रमुख खरेलले नगरवासीलाई अहिलेको परिस्थितिमा अन्य काममा भन्दा आफ्नै स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् । उनले सबै नगरवासीलाई घरमै बस्न अनुरोध गर्दै आवश्यक काममा जानै पर्ने भएमा स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्न अनुरोध गरेका छन् ।