Logo

बागमती पेज

जेष्ठ २०, २०७८ बिहीबार

सेतु नेपालद्वारा दुधौलीको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री सहयोग


सिन्धुली । सेतु नेपालको आर्थिक सहयोगमा दुधौली नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको छ ।

सामूहिक सरोकार समाज सिन्धुली (सिसिएस) को समन्वयमा बुधवार सिसिएस सिन्धुलीका अध्यक्ष नवराज पहाडीले दुधौली नगरपालिका प्रमुख घनश्याम राउतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

सेतु नेपाल खुमलटार काठमाडौंको आर्थिक सहयोग तथा सामूहिक सरोकार समाज सिन्धुलीको साझेदारीमा कोभिड-१९ प्रतिकार्यको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष पहाडीले जानकारी दिएका छन् । दुधौली नगरपालिकामा रहेका आइसोलेसन अस्पतालमा कोरोना सङ्क्रमितहरूको उपचार तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने संस्थाको अपेक्षा रहेको छ ।

संस्थाका अध्यक्ष पहाडीले नगर प्रमुख राउतलाई अक्सिजन मास्क २० थान, थर्मल गन १० थान, पिपिई सेट ३० सेट, फेस सिल्ड १०० थान, केएन ९५ मास्क २०० थान, सर्जिकल मास्क ३० बट्टा, गोल्भस २० बट्टा अक्सिमिटर ५ थान, स्यानिटाइजर १० ग्यालिन, फिनेल ५० बोतल स्प्रे ट्याङ्की २ थान हस्तान्तरण गरिएको गरेको जनाएका छन् ।

सहयोग सामग्री ग्रहण गर्दै नगर प्रमुख राउतले गैर सरकारी संस्थाहरूको सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग मिलेको बताए । उनले नगरपालिकाले भ्याए सम्मको स्रोत साधनको प्रयोग गरे पनि नगरपालिकाको मात्र प्रयासले सम्भव नभएको र दातृ संस्था र सहयोगी व्यक्तिका कारण सङ्क्रमितको उपचारमा सहयोग मिलेको भन्दै सहयोग गर्ने संस्थालाई धन्यवाद दिएका थिए ।

उनले दुधौली नगरपालिका प्रति कोभिड-१९ प्रतिकार्यका लागि भोलिका दिनहरूमा पनि संस्थाको आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।

संस्थाले यस अघि फिक्कल गाउँपालिकालाई १५ थान अक्सिजन सहितको सिलिन्डर हस्तान्तरण गरेको थियो । स्थानीय सरकारले माग गरेका आवश्यक स्वास्थ्य सामाग्रीहरू अरू स्थानीय तहमा समेत वितरण गर्ने संस्थाको लक्ष्य रहेको सामूहिक सरोकार समाज सिन्धुलीले जनाएको छ ।