Logo

मेघनाथ पहाडी

जेष्ठ २७, २०७८ बिहीबार

गणेश पहाडीको गाविस अध्यक्ष देखि मन्त्री सम्मको यात्रा !


काठमाडौं । सिन्धुलीका एमाले नेता गणेशकुमार पहाडी मुलुकको सामान्य प्रशासन मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडीलाई विहिबार मन्त्री नियुक्त गरेका हुन् ।

माधव नेपाल पक्षमा खुलेर लागेका पहाडी नेपाल समुह छोडेर केही समय अघिदेखि ओली निकट बनेका थिए  ।

सिन्धुलीबाट दुईपटक निर्वाचित भएका पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने २८ जनामा एक थिए । तर उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेनन् ।

यस्तो छ, पहाडीको यात्रा !

मन्त्री पहाडी सिन्धुलीबाट २ पटक प्रतिनिधिसभामा निर्वाचित नेता हुन् ।

२०७४ सालको प्रतिनिधिसभाको आम निर्वाचनमा सिन्धुलीको क्षेत्र नं १ बाट विजयी भएका थिए । युवा नेता पहाडी २०७० सालको संविधान सभाको निर्वाचनमा सिन्धुली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित भए पश्चात् समग्र सिन्धुली र विशेष आफ्नो क्षेत्रको विकास निर्माणको कामलाई पहाडीले अगाडि बढाए ।

२०७४ को आम निर्वाचनमा विजय हुन सफल भएपछि पहाडीले आफ्नो क्षेत्रमामात्र नभएर सिन्धुली जिल्ला र समग्र नेपालको विकासलाई कसरी अगाडी बढाउने ? समग्र देशकै विकास नहुनका कारण के हुन् ? लगायतका विषयमा आफूले विशेष रुचीका साथ अध्ययन गर्दै यस क्षेत्रको विकास समितिमा महत्वपूणर् भूमिका निर्वाह गर्दै आएका छन् ।

सिन्धुलीको विकास निर्माणका कामलाई अहिले मात्र नभएर खाङ्साङ्ग गाउँ विकास समितिमा रहँदा समेत मन्त्री पहाडीलाई कामको आधारमा जिल्ला परिषद्ले सबैभन्दा राम्रो काम गर्ने गाविस अध्यक्ष भनेर उत्कृष्ट अध्यक्षको रुपमा सम्मान समेत गरेको थियो ।

२०३९ सालबाट राजनीतिक यात्रा शुरु गरेका पहाडी २०४७ सालमा तत्कालीन नेकपा एमालेको संगठित सदस्यता प्राप्त गर्दै ०४८ सालमा सिन्धुली काठमाडौं सम्पर्क कमिटी नेकपा एमालेको संयोजक भए ।

२०५३ सालमा सिन्धुली काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष हुँदै २०५५ सालमा नेकपा माले जिल्ला कमिटीको जिम्मेवारी लिन पुगे । ०५६ सालमा सिन्धुली जिल्ला कमिटीको सदस्य भएका पहाडी २०६५ सालमा नेकपा एमाले सिन्धुलीको सचिव, ०६६ सालमा नेकपा एमाले सिन्धुली जिल्ला कमिटीको संयोजक, नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशन पश्चात् नेकपा एमाले सिन्धुली क्षेत्र नं १ को तर्फबाट राष्ट्रिय प्रतिनिधी परिषद्मा २०६७ सालमा निर्वाचित भएका थिए ।

नेकपा एमालेको सातौं, आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गर्दै २०७१ सालमा सम्पन्न भएको नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।

वि.सं २०२७ असार ९ गते फिक्कल गाउँपालिका वडा नं ४ स्थित खाङ्साङ्गमा जन्मिएर प्रारम्भिक शिक्षा सुनकोशी माध्यमिक विद्यालयबाट शुरु गरेका मन्त्री गणेश कुमार पहाडीले पद्मोदय माविबाट एसएलसी पहिलो श्रेणीमा उतीणर् गरेको थिए । त्यसैगरी उनले नेपाल कमर्श क्याम्पस मिन भवनबाट स्नातक, ईन्जिनियरिङ अध्ययन संथानबाट डिप्लोमा र पाटन क्याम्पसबाट स्नातकोत्तर गरेका हुन् ।