Logo

बागमती पेज

असार १, २०७८ मंगलबार

गोकर्णेश्वरका बिभिन्न स्थानमा कोरोना सचेतना जगाउन नेपाल स्काउटको हेल्प डेस्क


काठमाडौं । सामाजिक सेवामा सक्रिय संस्था नेपाल स्काउटले कोरोना भाइरस महामारीको क्रममा पनि आफ्नो सेवालाई यथावत् सञ्चालनमा ल्याएको छ । महामारीको समयमा कोरोना संक्रमणका कारण बिरामी भएका मात्रै नभएर कोरोना नलागेका बिरामीको उपचार र स्थानीय स्तरमा खाना र पशुपक्षीलाई आहार वितरण जस्ता काममा आफ्ना स्वयंसेवकहरू परिचालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत नेपाल स्काउटका स्वयंसेवकहरु गाउँ शहरका मुख्य चोक र बस्तीहरुमा गई प्रत्यक्ष संवाद गरी जनचेतना फैलाउने कार्य गर्दै आएको छ भने खोप अभियानमा समेत स्वयम् सेवकको रुपमा सहजीकरण गर्दै आएको छ।

नेपाल स्काउट बागमती प्रदेश अन्तर्गतको गोकर्णेश्वर नगर समितिको आयोजनामा कोभिड -१९ विरुद्ध १५ दिने जनचेतनामुलक अभियान अन्तर्गत गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानमा हेल्पडेस्क संचालनमा ल्याएको छ । कोरोना सम्बन्धी जनचेतना र स्वास्थ्य सेवा प्राप्त गर्न सहजीकरण गर्ने उदेश्यले हेल्प डेस्कको स्थापना गरेको नेपाल स्काउट बागमती प्रदेश अन्तर्गतको गोकर्णेश्वर नगर समितिका संयोजक सुदर्शन बजगाईले जानकारी गराए ।

उनका अनुसार गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानमा माइकिंग मार्फत जन चेतना जगाउदै आएको र उक्त अभियानमा बिभिन्न ब्यक्ति तथा संस्थाहरुले समेत सहयोग गरिरहेको बताए । गोकर्णको प्रहरी चौकी,गोकर्णेश्वर ४, को शंखडोल चोक गोकर्णेश्वर ९ ,गोकर्णेश्वर ५ को जोरपाटी चोक र दक्षिण ढोका चोक, गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ८ को माकलबारीमा र मेडिकल कलेज चोकमा हेल्प डेस्क संचालनमा ल्याएको जानकारी गराएका छन । प्रत्येक हेल्प डेस्कमा ३ जना स्काउट सदस्य खटिएको जानकारी गराएका छन ।